बर्दिवासस्थित भप्सी खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग पुनःअबरुद्ध

title
शनिबार, साउन ४, २०७६

महोत्तरी । महोत्तरीको बर्दिवासस्थित भप्सी खोलामा बनाइएको अस्थायी डाइभर्सन पनि बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग पुनःअबरुद्ध भएको छ । गत हप्ता आएको बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सन बाट सवारी सञ्चालन गरिएको थियो ।

आज बिहान आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग ठप्प भएको हो । महोत्तरी प्रहरीले अहिले राजमार्गका दुवैतर्फ सयौं सवारीको लाम लागेको र खोलामा पानीको वहाव घटेपछि राजमार्ग एकतर्फि रुपमा खुल्ने जनाएको छ ।

पहिरोका कारण बन्द काठमाडौंबाट फाखेल र सिस्नेरी हुँदै हेटौंडा जाने छोटो बाटो पनि बन्द छ । हेटौंडा–काठमाडौ जोड्ने कान्ति लोकपथ पनि पहिरोका कारण बन्द छ ।

उता पहिरोका कारण बन्द मेची राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन । प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पांग्रेभिरमा खसेको पहिरो पन्छाउने प्रयास भईरहेको जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, भुतखोला नजिक गएराति देखि पुनः सडक भासिएको छ । सडक सवारी साधन एकतर्फी सञ्चालन गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।