टी–ट्वान्टी विश्वकप एसिया फाइनललाई नेपाली क्रिकेट टोली सिंगापुर प्रस्थान

title
शनिबार, साउन ४, २०७६

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज(सनिवार) सिंगापुर प्रस्थान गर्दैछ ।

मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर जान लागेको हो । प्रतियोगिताका लागि नेपालले हिजो अन्तिम अभ्यास गरेको थियो । मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी–ट्वान्टी क्रिकेट सिरिज समेत खेलेको थियो । उक्त सिरिज नेपालले क्लिन स्विप गरेको थियो ।

सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकप छनोटका रुपमा रहेको यस एसिया फाइनल जुलाई २२ देखि २८ सम्म हुनेछ । एसिया फाइनलमा नेपालले आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलको शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म यु.ए.ई.मा आयोजना हुनेछ । युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगिसकेको छ ।

एसिया फाइनलमा नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र कतार बीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । एसिया फाइनलमा नेपाल उपाधि दाबेदार टिम हो ।

यस फाइनल खेल्ने पाँच राष्ट्र मध्ये नेपाल मात्र एकदिवसीय मान्यता प्राप्त राष्ट्र हो ।