नेपालमा धेरै सम्भावना बोकेको खेल सेपाक ताक्रो, कसरी खेल्ने ? (भिडियो)

title
शनिबार, साउन ४, २०७६

वीरेन्द्र जैरु
सेपाक ताक्रो एक खेल हो। नेपालका लागि नयाँ भएकाले सेपाक ताक्रो भन्ने वित्तिकै सबैको एकै खाले प्रश्न हुन्छ, यो के हो ? कस्तो खेल हो ? कसरी खेलिन्छ ? कहाँ खेल्ने हो? पहिलो पटक सुन्नेका लागि सेपाक ताक्रो अनौठो लाग्नु स्वभाविक पनि हो।

१९ औ को सताब्दी तिर दक्षिण पूर्वी एसिया मुलुकहरुका जनजातिहरुले वेतको चुयांको डल्लो बनाई मनोरञ्जनका सेपाक ताक्रो खेल्थे। ८/१० जनाको गोलो घेरामा उभिएर खुट्टाले पालै पालो हानेर खेल्ने गरिन्थ्यो। तर, हाल एसिया तथा युरोपका अन्य मुलुकहरुमा समेत यो खेलिदै आएको छ। र, खेलले एसियाली खेलकुद तथा ओलम्पिक प्रतियोगितामा समेत प्रवेश पाईसकेको छ।

नेपालको सन्दर्भमा २०६४ सालमा नै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएपनि प्रचार प्रसार अभावका कारण यो खेलले लोकप्रियता पाउन सकेको छैन्। नेपालमा अझै पनि धेरै मानिसलाई यो खेलको बारे ज्ञान नै छैन्। कतिले त सेपाक ताक्रो खेलको नाम सुनेका पनि छैनन्। तर, सुन्दा अचम्म लागे पनि हाम्रो जस्तो पहाडी मुलुकका लागि भने एकदमै सुहाउँने खेल सेपाक ताक्रो बन्न सक्छ। हिमाल, पहाड, तराई वा मधेस जस्तो सुकै ठाउँमा पनि यो खेल सजिलै खेल्न सकिन्छ।

नेपालमा सेपाक ताक्रोको सम्भावना

भलिबल जस्तै हातको सट्टा खुट्टा र टाउको प्रयोग गरी खेलिने सेपाक ताक्रो खेल नेपालमा भने २०५९ साल तिरै भुतपुर्व सिंगापुर प्रहरीहरुले भित्राएका थिए। नेपालमा भित्राउने क्रममा सिंगापुर प्रहरी मध्येका एक महत्वपुर्ण सदस्य हुन् ध्रुवकुमार गुरुङ।

गुरुङले सिंगापुर प्रहरीमा छदाँ पहिलो पटक यो खेलको अनुभव लिएका थिए। सुरुवातमा अनौठौ लागेको खेल विस्तारै खेल्दै अनि बुझ्दै जादाँ नेपालका लागि पनि सुहाउँदो र सम्भावनायुक्त देखेर उनैको पहलमा भित्रिएको हो। एसिया तथा युरोपका मुलुकमा खेलिने यो खेल नेपालमा भित्र्याउन गरिएको अथकप्रयासका दिन गुरुङ अझै पनि सम्झिन्छन्।

सानै ठाउँमा पनि सजिलै खेल्न सकिने भएकाले सेपाक ताक्रो मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी प्रसस्तै उत्पादन गर्न सक्ने सम्भावना रहेको उनको बुझाई छ। सुरुवातमा पोखरा, पाल्पा, सुर्खेत र धरानमा खेलिने गरेपनि अहिले भने देशका अन्य विभिन्न जिल्लाहरुमा समेत सेपाक ताक्रो खेलिदैँ आएको छ। विशेषगरी देशका विद्यालयहरुमा अहिले यो खेल खेल्न थालिएको छ।

अहिले सेपाक ताक्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत समावेश हुदैँ आएको छ। तर, नेपालले आयोजना गर्ने १३ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भने यो खेल समावेश भएको छैन्। यद्यपी डेमोस्ट्रेसनका लागि यो खेलले साग प्रतियोगितामा समावेश पाउने सम्भावना रहेको नेपाल सेपाक ताक्रो संघले जनाएको छ।

यो भिडियो हेर्नुहोस्

नेपाली परिवेशमा सुहाउँदो यो खेल हिमाल, पहाड, तराई जस्तो सुकै ठाउँमा पनि खेल्न सकिन्छ। यो खेलका लागि एउटा ब्याटमिन्टन कोर्टजस्तै सानो खुल्ला जमिन भए पुग्छ। बलमा हावाँ नहुने हुदाँ भलिबल जस्तो उफ्रेर टाढाँ पनि जादैन। कुनै पनि सानो कोर्ट वा मैदान खेल्न सकिने भएकाले दुर्गम क्षेत्रका बालबालिका तथा युवायुवतीहरुले यो खेल सजिलै खेल्न पाउछन्।

सेपाक ताक्रोमा प्रयोग हुने बल, बेत अथवा बाँसका चोँया गाउँ घरमै सजिलै उत्पादन गर्न सकिन्छ। फुटबल तथा चुङ्गी खेल्ने खेलाडीहरुले यो खेल छिट्टै सिक्न सक्छन्। त्यसैले पनि गाउँघरदेखि शहरसम्ममा यो खेल खेल्ने खेलाडीहरु जन्माउन सजिलो छ।

विद्यालयबाटै उत्पादन हुँदैछन् खेलाडी

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएपनि प्रचार प्रसार अभावका कारण यो खेलले लोकप्रियता बनेको छ्रैन्। तर, पछिल्लो समय नेपाल सेपाक ताक्रो संघले विद्यालयस्तरमा विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै यसको प्रचारप्रसारमा जोड दिईरहेको छ।

राजधानीमा शुक्रबार सम्पन्न खुल्ला सेपाक ताक्रो युथ डेभलपमेन्ट च्याम्पियनसीप प्रतियोगिता यसैको एक उदाहरण हो। विभिन्न जिल्लाका विद्यालय तथा क्लबले सहभागीता जनाएको प्रतियोगितामा महिला र पुरुष गरी १८ टोलीका खेलाडीहरुले सहभागीता जनाउने अवसर पाए।

आफ्नो खेल कौशल प्रर्दशन गर्ने अवसर पाएसंगै खेलाडीहरु उत्साहित छन्। नेपाल सेपाक ताक्रो संघका संस्थापक ध्रुवकुमार गुरुङको ७२ औ जन्मोत्सवको अवसरमा संघले प्रतियोगिताको आयोजना गरेको हो। गुरुङले आफ्नो जन्मोत्सवमा आयोजित प्रतियोगितामा नगद ५० हजारको नगद पुरस्कार खेलाडीलाई हस्तान्तरण गरे।

क्याम्ब्रिज पब्लिक स्कुलको मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फको स्पर्धामा भक्ति अन्तर्राष्ट्रिय एकेडेमी पहिलो भयो। त्यस्तै तिलिङ्गा ताक्रो क्लब दोस्रो हुदाँ बेविलोन नेशनल स्कुलले भने तेस्रो स्थान हासिल गर्‍यो।

यता, महिला तर्फको स्पर्धामा न्यु मालाश्री ईङलिस स्कुल पहिलो भयो। त्यस्तै तिलिङ्गा ताक्रो क्लब दोस्रो हुदाँ नेपाल मोडे सेकेन्डरी स्कुलले तेस्रो स्थान हासिल गर्‍यो। पुरुष र महिला दुवै स्पर्धामा पहिलो हुनेलाई नगद १० हजार, दोस्रोलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरियो। विद्यालयस्तरबाट नै सेपाक ताक्रो खेलको विकास र विस्तार गर्ने उद्देश्य प्रतियोगिता आयोजना गरिएको नेपाल सेपा ताक्रो संघका उपाध्यक्ष रिता राई दहालले बताईन्।

पछिल्लो समय विद्यालयस्तरीय प्रतियोगिता आयोजना हुने क्रम बढेसंगै यो खेलले रौनकता बढाएको छ। देश संघीय संरचनामा गएकाले यो खेलको प्रचारप्रसार गर्न सजिलो हुने भएपछि सेपाक ताक्रो संघ पनि यो खेलको विकास, विस्तारका गर्न जुर्मुराएको देखिन्छ। जनशक्तिको अभावले समेत बृद्धिविकासका हुन नपाएको यो खेलको लागि अहिले विभिन्न जिल्लामा प्रशिक्षक उत्पादन भईरहको संघका महासचिव गंगाबहादुर गुरुङ बताउछँन् ।

नेपालले हात पारेको उपलब्धी

नेपालले सेपाक ताक्रोको दुई पटक दक्षिण एसियाली च्याम्पियनसिप प्रतियोगिता समेत आयोजना गरिसकेको छ। २०६९ र ७५ सालमा घरेलु मैदानमा आयोजना गरेको प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै स्पर्धामा रजत पदक जित्न सफल भएको थियो। त्यस्तै सन् २०१८ मा श्रीलंकामा आयोजना भएको दक्षिण एसियाली च्याम्पियनसिपमा समेत रेगु, डबल र क्वाड इभेन्टमा रजत पदक हात पारेको थियो।