खोलाको जग्गा मिच्ने सुरज बैद्य साझेदार रहेको चिनियाँ ह्वासिन सिमेन्टलाई प्रकृती र संसदीय उपसमितिको कारवाही

title
सोमवार, साउन ६, २०७६

काठमाडौं । मापदण्ड विपरित निर्माण भइरहेको धादिङ स्थित ह्वासिन सिमेन्ट उद्योगमा खोलाको बाढी पसेर करोडौंको क्षेती पुर्‍याएको एकसाता वित्न नपाउँदै संसदिय समितिले उद्योगलाई कारवाहीको सिफारिस गरेको छ ।  चिनियाँ कम्पनि र सुरज बैद्य सञ्चालक रहेको बैद्य अर्गनाइजेशनको साझेदारीमा निर्माणाधिन ह्वासिन सिमेन्ट उद्योगले बेनीघाट–रोराङ गाउँपालिका सँग गरेको जग्गा भाडा सम्झौता रद्द र त्यसमा संलग्न पदाधिकारीलाई कारवाही गर्न संसदीय उसमितिले सिफारिस गरेको हो ।

मापदण्ड पिवपरित खोलाको धार परिवर्तन गरेर संरचना बनाइएको उद्योगमा अघिल्लो साता खोलो पस्दा करोडौं रुपैयाँ बराबरको भौतिक संरचनाहरुमा क्षेती पुगेको थियो । पैसा र पहुँचका आडमा आफूखुसी काम गर्दा पनि अहिले सम्म उन्मुक्ति पाइरहेको ह्वासिन सिमेन्ट उद्योगलाई प्रकृतीले नै प्रहार गरेकै समयमा संसदिय समितिले पनि कारवाहीको सिफारीस गरेको हो ।

यस्तो छ संसदीय समितिको निश्कर्ष
ह्वासिन सिमेन्ट उद्योगले सयौं रोपनी खोलाको जग्गा मिचेको प्रसङ्ग सगरमाथा टेलिभिजनले उजागर गरेपछि संसदको सार्वजनिक लेखा समितिले उपसमिति नै गठन गरेर स्थलगत अनुगमन गरेको थियो । स्थलगल अनुगमनका क्रममा बेनीघाट–रोराङ गाउँपालिकाका पदाधिकारीले बैद्य आर्गनाईजेशन साझेदार रहेको चिनियाँ कम्पनि ह्वासिन सिमेन्ट उद्योग सँगको सम्झौता मापदण्ड विपरित भेटिएको उपसमितिका संयोजक लेखराज भट्टले बताए । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन नाघेर आफूखुसी कार्यविधि तयार गरेको भन्दै उपसमितिले उद्योग सँगको जग्गा भाडा सम्झौता रद्द गरी गाउँपालिकाका पदाधिकारीलाई कारबाहीको सिफारिस गरेको संयोजक भट्टको भनाई छ ।

उपसमितिले तयार गरेको प्रतिवेदनले सिमेन्ट उद्योगलाई ५० वर्षका लागि दिइएको करिब २ सय रोपनी सार्वजनिक जग्गा भाडा सम्झौता रद्द गर्न निर्देशन दिनुपर्ने ठहर गरेको छ । उपसमितिका संयोजक भट्टका अनुसार, कम्पनिले उद्योग दर्ताका बेला उल्लिखित सर्त पालना नगरेको, प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण, सडक निर्माण, प्रभावितलाई क्षतिपूर्ति एवं रोजगारीलगायत विषयबारे समेत बेवास्ता गरेको छ ।

उपसमितिले स्थलगत अध्ययन गरेर तयार गरेको प्रतिवेदनमा उद्योगले उल्लंघन गरेका १५ बुँदे विवरण उल्लेख छ । खानी तथा भूगर्भ विभागलेकम्पनीलाई ४ वर्षका लागि सर्भे अनुमति दिएपनि गाउँपालिकाले भने आफ्नो कार्यक्षेत्रबाहिर गएर कार्यविधि बनाई जग्गा दिने सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । लेखा समितिले गत असोज १८ गते छानबिनका लागि उपसमिति गठन गरेको थियो ।

नेपाली कम्पनि बैद्य अर्गनाइजेशन सँगको साझेदारीमा चिनियाँ कम्पनिले सञ्चालन गर्न लागेको ह्वासिन सिमेन्ट उद्योगमा करिव १५ अर्ब रुपैयाँ लगानी गरिएको छ । अहिले ह्वासिन सिमेन्ट उद्योग र लगानीबोर्डबीच परियोजना लगानी सम्झौता (पीआईए) समेत भई उद्योग विस्तारको काम भइरहेको छ । लगानी बोर्डले २०७२ पुस ५ मा निर्णय गरी कम्पनीलाई उद्योगमा लगानी गर्न अनुमति दिएको थियो । सोहीअनुसार कम्पनीले उद्योग विभागबाट दर्ता प्रमाणपत्र पाएको छ ।

संकटमा पर्दे ह्वासिन सिमेन्ट उद्योग
१५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले बैद्य अर्गनाइजेशन सँगको साझेदारीमा चार महिना अघि उद्योग निर्माण शुरु भएको हो । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो । सिमेन्ट उद्योगले मापदण्ड विपरित, खोलाको धार नै परिवर्तन गरेर काम गरिरहेको थियो । सगरमाथा टेलिभिजनलाई प्राप्त प्रमाण अनुसार, उद्योगले मलेखु खोलाको १ सय २१ रोपनी जग्गा कब्जा गरिसकेको छ । अरु सयौं रोपनी खोलाको जग्गामा आफूखुसी काम गरिरहेको छ ।

२०५० साउन ४ गतेको बाढीले बनेको बगरको ४ सय रोपनी व्यक्तिगत खेत खरिद गरी निर्माण हुन थालेको सिमेन्ट उद्योगले थप ३ सय रोपनी सार्वजनिक बगर र जग्गा गाउँपालिकासँग ५० वर्षका लागि भाडामा लिने गरी निर्माण अघि बढाएको थियो । उद्योगका लागि २० मेगावाटको विद्युत् लाइन विस्तार गर्दा गजुरी गाउापालिकाका बासिन्दाको घरखेत हुादै लैजानुपर्ने भएपनि आफूहरूलाई क्षतिपूर्ति नदिएको स्थानीयको आरोप छ । निर्माण थाल्दादेखि नै नजिकैको पीपलभन्ज्याङ माध्यमिक विद्यालयका विद्यार्थीले आफूहरूको अध्ययनमा बाधा परेको भन्दै विरोध समेत जनाएका थिए ।

स्रोतका अनुसार, विरोधमा उत्रनेलाई ह्वासिन सिमेन्टले दबाब र आर्थिक प्रभावमा पारेर विरोध गर्नेहरुलाई पाखा लगाउने गरेकोछ । यतिमात्र होइन, ह्वासिन सिमेन्ट र नेपाली साझेदार सुरज बैद्यले केही जनप्रतिनिधि र पहुँचवाला स्थानीयलाई हातमा लिएर सरकारी जग्गा आफूअनुकुल प्रयोग गरिरहेका थिए । तर, अहिले खोलाले गरेको विश्वंस र संसदिय समितिले गरेको सिफारिसका कारण निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग अन्योलमा परेको छ ।