वातावरण मैत्री थर्मल प्रविधी नेपालमा, पानी तताउन र कोठा न्यानो बनाउन सकिने

title
सोमवार, साउन ६, २०७६

काठमाण्डौ । अमेरिका, बेलायत, दक्षिण कोरिया, जापान जस्ता विकसित मुलुकहरुमा पानी तताउन र कोठा न्यानो गर्न प्रयोग हुदै आएको थर्मल प्रविधी नेपालमा समेत भित्रिएको छ ।

डी एण्ड जे कम्पनीले पोखरामा सुरु गरेको यो थर्मल प्रविधिले होटल व्यवसायी लाभान्वित भएका छन् । २० बर्ष देखि बेलायतमा बसेर यहि प्रविधिमा आधारित पेशा अंगाल्दै अएका धनु थकाली र जगन गुरुङका अनुसार यो बहुउपयोगी प्रविधि हो । यसका माध्यमबाट नुहाउन, भाँडा धुन समेत कम खर्चमा गर्न सकिन्छ ।

तीन बर्षअघि परिक्षणको रुपमा भित्र्याइएको यो प्रविधि सफल भएपछि यसलाई व्यवसायीक रुप दिन लागिएको कम्पनीका सञ्चालक गुरुङले जानकारी दिए । ‘तत्काललाई यो प्रविधि पुन: परिक्षणकै रुपमा केही होटल तथा घरहरुमा सुरु गरेका छौ, त्यहाँ पनि सफल भए अझ यसलाई ब्यवसायीक रुप दिइने छ,’ उनले थपे, ‘यो खासै महंगो छैन, नेपालीले धान्न सक्ने खालकै हुनेछ ।’ टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज लगायतका केही होटल तथा काठमाण्डौका केही व्यक्तिहरुले यसको जडान सुरु गरिसकेका छन ।

बहुउपयोगी मेसिन
खाना पकाउने एलपीजी ग्याँसको माध्यमबाट यो प्रविधिसँग सम्बन्धित बोयलर मेसिन सञ्चालन गर्न सकिन्छ । यसको माध्यमबाट सजिलैसँंग कोठा तताउने र आवश्यकता अनुसार पानी तताउन सकिन्छ । यो प्रविधिमा दुई वटा प्रणाली छन, सेन्ट्रल हिटिङ सिस्टम र वाटर हिटिङ सिस्टम ।

धाराबाट आएको चिसो पानीलाई मेसिनमा भएको सेन्सरले तातो गराउने काम गर्छ । मेसिन भित्रको पानी तातो भएपछि कोठाको वायुमण्डलमा फैलिन्छ । वाटर वोइलर हिटरले ३५ देखि ६० डिग्री सेल्सियस सम्म तापक्रम दिन्छ । आफ्नो अनुकुलको तापक्रम राख्न मेसिनमा स्विचको व्यवस्था समेत गरिएको छ ।

दैनिक लगातार चार घन्टा प्रयोग गर्दा एउटा एलपिजी ग्याँसले करिब तिन हप्तासम्म तिन बटा कोठा तताउन, नुहाउन, भाँडा धुन तथा तातो पानी प्रयोग गर्न सकिने कम्पनीका सञ्चालक गुरुङले जानकारी दिए । किफायती समेत रहेको यो मेसिनलाई ५ बर्षमा एक पटक मर्मतसंभार गरे हुने गुरुङको भनाई छ ।