पार्टी एकताको प्रक्रिया करीब निष्कर्षमा पुगिसकेको नेकपा अध्यक्ष दाहालको भनाई

title
मङ्लबार, साउन ७, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । ४१आँै पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज काठमाडौंको चम्पादेवीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गर्नुभयो ।

उहाँले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरुपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताउनुभयो । दाहालले, पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्तिलाई मौलिक ढङ्गले पूरा गरेको धारणा राख्नुभयो ।

उहाँले आगामी दिनमा समान धारणा र विचार भएका शक्तिहरुसंग कार्यगत एकता गर्दै अघि बढ्ने जानकारी पनि दिनुभयो । त्यस्तै नेकपाका वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सकेमात्र पुष्पलालको सपना साकार हुने बताउनुभयो ।

उहाँले छिट्टै पोलिटब्यूरो गठन तथा विभागीय र जनवर्गाीय सङ्गठनको जिम्मेवारी बाँडफाँट गरिने बताउनुभयो । कार्यक्रमअघि कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यान चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र खनाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेललगायतका नेताले फूल गुच्छासहित माल्यार्पण गर्नुभएको थियो ।

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ उहाँले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो ।