गृहमन्त्री भन्छन-निर्मला पन्तको घटनामा राजनीतिकरण हुँदा अनुसन्धान प्रभावित

title
मङ्लबार, साउन ७, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रहरीले अहिले पनि गम्भिर रुपमा अनुसन्धान जारी राखेको बताउनुभएको छ । गृहमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले निर्मला पन्तको घटनामा राजनीतिकरणको प्रयास बढी हुँदा अनुसन्धान प्रभावित भएको पनि बताउनुभयो ।

यो घटना गृह मन्त्रालयसंग जोडिएको भन्दै भएको राजनीतिकरण दुःखद भएको उहाँको भनाई छ । पीडितलाई न्याय दिने कुरामा लाग्नपर्ने भन्दै यसलाई राजनीतिकरण गर्न नहुने उहाँले बताउनुभयो ।

उहाँले यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक पत्रकार सम्मेलनमार्फत प्रस्तुत गर्नुभयो । त्यस्तै उहाँले विप्लव समूह वार्तामा आउने प्रकृयामा रहेको र निकट भविष्यमै वार्ता हुने सम्भावना रहेको समेत जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले अनियमिततामा संलग्न १८ सय ठेकेदारको फाइल पनि गृहले अख्तियारमा बुझाएको जनाएको छ । गृहमन्त्रालयले गत आर्थिक वर्षको कार्य सम्पादन तथा आगामी वर्षको कार्ययोजना बारे पनि जानकारी गराएको थियो ।