आमाबुबाको स्याहार गर्नाले सम्मानित हुँदा मिलेको खुसी (भिडियो रिपोर्ट)

title
मङ्लबार, साउन ७, २०७६

कैलाश लामा
दोलखा । पाको उमेरका बुबा आमाको रेखदेख गर्न झन्झट मान्ने सन्तानलाई जिम्मेवार बनाउन र वृद्धा अवस्थामा सन्तानको मायाबाट टाढिनुपर्ने बाध्यता अन्त्य गर्न दोलखाको तामाकोशी गाउँपालिकाले अनुकरणीय र प्रभावकारी कदम चालेको छ । वृद्धअवस्थामा पुगेका आमाबाबुलाई माया गर्ने र स्याहार गर्ने सन्तानलाई गाउँपालिकाले सम्मान गरेको छ ।

बृद्धअवस्थामा पुगेका बुबाआमाको उचित स्याहार गर्दा पाएको सम्मानले तामाकोशी गाउँपालिकाका धेरै सन्तान खुसी थिए । गाउँपालिकाले वृद्धअवस्थामा पुगेका बुबा आमालाई माया गर्नुका साथै राम्रो स्याहार गर्ने १७ छोराबुहारी, ३ छोरी र एक नातिनीलाई नगदसहित सम्मान गर्दा सम्मानित भएका सबै खुसीले गदगद देखिन्थे ।

तामाकोशी १ भीरकोट देउराली टोलका हीराबहादुर विक र उनकी पत्नी लक्ष्मी विक पनि बुबाआमाको स्याहारले पाएको सम्मानबाट गदगद थिए ।

बढ्दो आधुनिकरण र बाहिरी संस्कृतिको प्रभावले वृद्धअवस्थाका जेष्ठ नागरिकहरु आफ्नै सन्तानबाट अपहेलित नहुन भन्नका लागि गाउँपालिकाले ल्याएको यो कार्यक्रम अनुकरणीय छ । आफ्नो जिम्मेवारीलाई बहन गर्दा पाएको सम्मानले सर्वाधिक खुसी मिलेको छ ८६ वर्षीया वृद्धा सानुमायाकी बुहारी शान्तालाई ।

प्रत्येक वडाबाट ३ जनालाई सम्मान गर्ने योजना अनुसार ७ वडाका २१ जनालाई नगद सहित सम्मान गरिएको हो । पाँच हजार रुपैयाँ नगदसहित गरिएको सम्मानले अझ धेरै जिम्मेवारी बोध गराएको छ सन्तानहरुलाई ।

भिडियो हेर्नुहोस्

भूपाल कुमार कार्की र उनकी पत्नी लक्ष्मी कार्की पनि तामाकोसी–२ झुले, ढुङ्गेश्वाराका सम्मानित दम्पत्ति हुन । उनीहरुले बुबाआमाको मायाले अझै बढी जिम्मेवार बनाएको बताए ।

गाउँपालिकाले असल छोराबुहारीहरु दिलबहादुर र रीता माझी, भक्तबहादुर र मेनुका कार्की, माधब र विष्णुमाया पोखरेल, गोविन्दबहादुर र सीता खड्का, होमप्रसाद र देवि चौलागाईं, भीमलाल र भीमकुमारी भट्टराई, इन्द्रबहादुर र अप्सरा अधिकारी, टेकबहादुर र दुर्गा फुयाँल, कुलप्रसाद र मैयाँ फुयाँल, नवराज र शर्मीला आपगाई, बुद्धिमान र कमला सुनुवार, खगेन्द्रराज र सावित्री सुनुवार, आङनिमा र जमुना शेपालाई सम्मान गरेको छ ।

त्यस्तै छोरीका रुपमा जमुना तामाङ, चिनीमाया तामाङ, दुर्गा महत, गिता बुढाथोकीलाई सम्मान गरिएको छ भने असल नातिनीका रुपमा मिरा योगी सम्मानित भएकी छन् । कार्यक्रमलाई आगमी दिनमा झन प्रभावकारी बनाउने गाउँपालिकाको योजना रहेको तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताए ।

कार्यक्रमको पुरस्कार रकम सानो होला तर यो कार्यक्रले उठाउँन खोजिएको विषयवस्तो गहन छ । हुर्काइबढाई शिक्षादिक्षा दिएर समाजमा बाच्न परिपक्व बन्नमा साथ दिने आफ्ना बुबाआमा, सासु सुसुरा, हजुरबुबा हजुरआमालाई सम्मान गर्नुपर्दछ भन्ने आशयसहितको यो कार्यक्रम सबै स्थानीय तहका लागि अनुकरणीय काम हो ।