७५ हजार पर्यटकले घुमे म्याग्दीका पर्यटकीयस्थल

सन्तोष गौतम

title
बुधबार, साउन ८, २०७६

सन्तोष गौतम

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा ७५ हजार विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७५ साउन देखि २०७६ असारसम्म म्याग्दी घुम्ने पर्यटकको संख्या ७५ हजार १ सय ९१ जना छ । भित्र्ने पर्यटक ४३ हजार ४ सय २८ र बाहिरिने ३१ हजार ७ सय ६२ जना छन । कात्तिक महिनामा सबै भन्दा बढी १४ हजार २ सय ९७ जना पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा ७४ हजार ७ सय ३३, २०७३/७४ मा ६९ हजार ८ सय ३७ र २०७२/७३ मा ४३ हजार ६ सय ३२ जनाले भ्रमण गरेको तथ्याङ्क छ ।

२०७४/७५ को तुलनामा ०७५/०७६ मा साढे चार सय जनाले पर्यटकको संख्या बढेको छ । साउनमा तीन हजार ४ सय ४६, भदौमा तीन हजार ९२, असोजमा नौ हजार ५ सय ३२, मंसिरमा पाँच हजार बीस, पुषमा चार हजार ३ सय ४२, माघमा चार हजार ४१, फागुनमा चार हजार ९ सय ९०, चैतमा दश हजार ४ सय ५१, बैशाखमा दश हजार पाँच, जेठमा चार हजार १ सय ४२ र असारमा एक हजार ८ सय ३३ जनाले भ्रमण गरेका छन् ।

घोरेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङ स्थित प्रहरी चौकीले जिल्ला भित्र्ने र बाहिरिने पर्यटकको विस्तृत विवरण सहितको तथ्याङ्क राख्ने गरेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासीनीले बताए ।

म्याग्दीमा आउने मध्ये ८० प्रतिशत भन्दा बढी पर्यटकको रोजाइमा घोरेपानी पुनहिल क्षेत्र पर्छ । धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रिय, धौलागिरी आईसफल, टोड्के, रुप्से झरना, अन्ध गल्छी, गलेश्वर, बेनीबजार लगायतका धार्मिक, प्राकृतिक र ऐतिहाँसिक स्थलहरुको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङ जाने पर्यटकहरु म्याग्दीको सडक हुँदै जान्छन । अमेरिका, फ्रान्स, इटली, जर्मन, कोरीया, चीन, भारत, पोर्चुगल, अस्टेलिया, नेदरल्याडका साथै भारतीय पर्यटकको सख्या बढी रहेको छ । पछिल्लो समय चिनीया, कोरीया र भारतीय पर्यटकको आगमन बढेको घोरेपानीका होटल ब्यवसायी ओम पुनले बताए ।