सरकारद्धारा खेलाडीलाई नगदसहित सम्मान

title
बुधबार, साउन ८, २०७६

काठमाडौँ, नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । सरकारले साफ उपविजेता बनेको महिला टोलीलाई बुधबार नगदसहित सम्मान गरेको हो ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री जगत बिश्वकर्माले नेपाली टोलीलाई जनही ३२ हजार ५ सय नगद र सम्मान पत्रले सम्मान गर्नुभयो । सम्मानित हुने नेपाली टोलीमा २० सदसीय खेलाडी र एक प्रशिक्षक रहेका छन् । गत फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

त्यस्तै सरकारले नेपाली राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टिमलाई नगदसहित सम्मान गरेको छ । नेपाली टोलीलाई जनही ५० हजार नगद र सम्मान पत्रले सम्मान गरेको हो । त्यस्तै अफिसियललाई जनही २५ हजारले सम्मान गरेको छ । कार्यक्रममा खेलकुदमन्त्री विश्वकर्माले सरकार गठन भएसंगै खेलुकदलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा एथलेटिक्स खेलाडी अजितकुमार यादव र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पनि नगदसहित सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित र प्रिन्सलाई जनही १–१ लाख नगद र सम्मानपत्रले सम्मान गरिएको हो । त्यस्तै अजितका प्रशिक्षक धनीराम चौधरीलाई पनि सरकारले ५० हजार रुपैयाँबाट सम्मान गर्यो ।