काभ्रेका  सात हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाउने तयारी

काभ्रेका  सात हजार भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाउने तयारी
बिहिबार, साउन ९, २०७६

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सात हजार भूकम्प लाभग्राहीलाई सूचीबाट हटाउने तयारी गरेको छ।

भूकम्प गएको चार वर्ष बितिसक्दासमेत लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न नआएका कारण त्यस्ता लाभग्राहीलाई सूचीबाट नै हटाउने तयारी गरिएको हो।  काभ्रेपलाञ्चोक जिल्लामा त्यसरी लाभग्राहीको सूचीमा परेर सम्झौता गर्न नआउनेको सङ्ख्या सात हजारभन्दा बढी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जनाएको छ।

‘प्राधिकरणले लाभग्राहीको सूचीमा परेर पनि सम्झौता गर्न नआउनेलाई असार मसान्तसम्मको समयसीमा दिएकामा अझै आएका छैनन्, त्यस्ता लाभग्राहीलाई पहिलो चरणमा निलम्वनमा राखिएको छ,’ जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले भने, ‘जिल्लामा त्यस्ता लाभग्राही सात हजारभन्दा बढी रहेका छन्’

अझै पनि घर बनाउन चाहनेका लागि मर्का नपरोस् र अन्तिम अवसर प्रदान गर्ने उद्देश्यले निलम्वनमा मात्रै राखिएको आचार्यले बताए। ‘यदि बनाउन चाहेमा सम्बन्धित नगरपालिका र गाउँपालिकाबाट आएको सिफारिसका आधारमा फुकुवा गरी उनीहरुले सम्झौता गरेर घर बनाउन सक्नेछन्,’ उनले भने।

त्यसरी निलम्वनमा राखेकाहरु छिट्टै सम्पर्कमा नआएको खण्डमा खारेजी नै हुने कार्यालयले जनाएको छ। अहिलेसम्ममा कूल सर्वेक्षण भएको ९० हजार ४९७ जनामध्ये ८३ हजार ३६५ लाभग्राही पहिचान भएको र ७३ हजार ३६५ ले सम्झौता गरेर ५० हजार रुपैया लिइसकेको जनाइएको छ।