केसीसीमा आजदेखि शुरुभयो ‘एक्जिबिट २०१९’

केसीसीमा आजदेखि शुरुभयो ‘एक्जिबिट २०१९’
शुक्रबार, साउन १०, २०७६

काठमाडौं–कान्तिपुर सिटी कलेज (केसीसी)ले निपूर्ण विचार, दीगो उपाय भन्ने मूल नाराका साथ दुई दिने एक्जिबिट आज (शुक्रबार)देखि सञ्चालन गरेको छ । कलेज भवन पुतली सडकमा जारी एक्जिविसनमा सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका २६ भन्दा बढी नवीनप्रदर्शनी, २ वटा गेमस्टल, ४ वटा खाजा स्टल राखिएको छ ।

केसीसी एक्जिबिट २०१९ को उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले कान्तिपुर सिटी कलेजले युवा क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोड्न योगदान पुर्‍याउने गरी कार्यक्रम ल्याएको बताए । सुशासन, विकास र समृद्धिको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न युवाको भूमिका महत्त्वपूर्ण हुने भन्दै विश्वकर्माले युवाको ऊर्जालाई उद्यमशीलता र उत्पादनमा केन्द्रित गराउनुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले यस प्रदर्शनीलाई दीगो विकास लक्ष्यतर्फ नेपालको पाइलालाई सहयोग गर्ने सानो प्रयास भएको बताए । राष्ट्रिय समस्याहरू समाधान गर्ने क्रममा दीगो उपाय पत्ता लगाउन युवाको भूमिका महत्वपूर्ण हुने रेग्मीले बताए ।

नेपाल सरकारको सूचनाप्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सूचना–प्रविधिलाई सजिलोको लागिमात्रनभई दीगोपनका लागि समेत प्रयोग गर्न आह्वान गरे ।

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले दीगो विकासकालक्ष्यलाई सम्बोधन गर्न नयाँपनचाहिने बताए । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ईन्जिनियर डिल्लीरमण निरौलाले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमा गुणस्तरीय र उत्पादनमूलक शिक्षा आवश्यक रहेको बताए ।

कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष सुमन कटवालले विगत देखिका प्रदर्शनीबारे बताउँदै सबैलाई धन्यवाद दिए ।

सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सूचनाप्रविधिमा अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)ले केसीसी एक्जिबिट २०१९ आयोजना गरेको हो ।

कार्यक्रम भोलि शनिबारसम्म चल्नेछ । शनिबारका कार्यक्रममा ‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मलेन, गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य र लोकगायिका निशा जिएमलगायत विद्यार्थीका मनोरञ्जनात्मक प्रस्तुति हुने कलेजका प्रमुख प्रशासक तथा एमए एमसीजे संयोजक राजीव तिमल्सिनाले जानकारी दिए ।