चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिईएको सरकारको दावी

चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिईएको सरकारको दावी
शुक्रबार, साउन १०, २०७६

काठमाडौं । सरकारले चूरे संरक्षणको कामलाई उच्च प्राथमिकता दिईएको दावी गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चुरे संरक्षणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनु भएको हो ।

उहाँले ‘राष्ट्रपति चूरे संरक्षण कार्यक्रम’ को संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणको कामलाई पनि तीव्रता दिईरहेको बताउनु भयो । राष्ट्रिय योजना आयोगले आज काठमाडौंमा गरेको कार्यक्रमको समिक्षात्मक छलफलमा भाग लिँदै उहाँले चूरे संरक्षणका लागि सरकारले वन ऐन र वातावरण ऐनलाई एक साथ कार्यान्वयनमा लगेको र जलवायु परिवर्तनसम्बन्धि कानुनलाई पनि कार्यान्वयनमा लैजाने गरी मन्त्रीपरिषदमा पेश गरिएको पनि जानकारी दिनु भयो ।

कार्यक्रममा विज्ञहरुले राष्ट्रपति चूरे संरक्षण कार्यक्रमका लागि आवश्यक बजेटको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए । त्रिभुवन विश्वविद्यालयका वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक सन्तोष रायमाझीले चूरे संरक्षणका लागि बजेटको समेत अभाव भएको भन्दै सरकारको आलोचना गर्नु भयो ।

प्राध्यापक रायमाझीले चुरे संरक्षणका लागि छुट्टै कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।