कुवेतबिरुद्ध नेपालको किर्तिमानी जित, ग्लोबल छनौट पुग्ने सम्भाबना बलियो

title
शनिबार, साउन ११, २०७६

काठमाडौँ, सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १ सय ४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

यो जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्नेछ । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । ओपनर समेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका १ छक्का प्रहार गरे । योसँगै कप्तान पारस टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान पारसले नेदरल्याण्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए । त्यस्तै शरद भेषवाकरले अविजित ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए ।

दिपेन्द्र सिंह ऐरी १ रनमा आउट हुँदा रोहित कुमार पौडेलले अविजित ६ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए । त्यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए ।

त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे । कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३ र ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । त्यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए । यो जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।

कुवेत ४ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुरको ५ अंक रहेको छ । अब नेपाल र सिंगापुरबीचको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ ।