हाकिमसँग अनुमति लिएर गर्भाधारण ?

title
आइतवार, साउन १२, २०७६

विश्वमा अनेकन नीति र नियम हुन्छ । जसले हामीलाई अचम्मित बनाउँछन् । जापानको यस्तै एक नियम छ जुन सुन्दा तपाईंलाई छक्कै लाग्न सक्छ । गर्भधारणका लागि समेत हाकिमसँग इजाजत लिनुपर्छ भन्ने कुरा सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर, नपत्याई सुख नै छैन । प्रसङ्ग जापानको हो ।

समाचारमाध्यमहरुले जनाए अनुसार, जापानको एक कम्पनीका हाकिमले आफ्नो कार्यलयमा काम गर्ने एकजना महिला कर्मचारीलाई आफूलाई जनाकारी नै नदिई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा भएको छ ।

यतिमात्र होइन त्यो कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीहरुलाई समेत इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न समेत आदेश दिएको छ ।

समाचारमा उल्लेख भए अनुसार, कम्पनीको आदेशलाई पालना गरि पालैपालो गर्भाधारण गर्ने हो भने त्यहाँ कार्यरत महिला कर्मचारीमध्ये एकजनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ । अहिले त्यो कम्पनीमा काम गर्ने महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानून जस्तै बनाइएको बताइएको छ ।

अझ अनौठो कुरा के छ भने त्यहाँ बच्चा जन्माउँदा मात्र होइन, अविवाहित महिला कर्मचारीले बिहे गर्नुपर्दा समेत हाकिमलाई जानकारी गराउनु पर्छ । अन्यथा विहे गर्न समेत पाइदैन ।