उच्च अदालतका तीन न्यायाधीशका विषयमा सर्बोच्चको छानविन समिति : न्यायाधीश सपनाप्रधान मल्ल अध्यक्ष

title
सोमवार, साउन १३, २०७६

-अमृतराज काफ्ले

काठमाडौं । उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको अध्यक्षतमा समिति गठन गरेको छ।

गत बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले गोर्खा ब्रुअरीको अन्तशुल्क निर्धारण सम्बन्धी मुद्दामा अधिकार क्षेत्र मिचेर आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीशहरु जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवमाथि छानबिन गर्न आदेश दिएको थियो।

तीननम्बर प्रदेशको आन्तरिक राजश्व कार्यालय भरतपुरको निर्णयलाई प्रादेशिक क्षेत्राधिकार मिचेर गण्डकी प्रदेश अन्तर्गतको उच्च अदालत पोखराले सुनुवाइ गरेको भन्दै प्रधानन्यायाधीश राणाको इजलासले तीनजना न्यायाधीशमाथि छानबिन गर्न न्यायपरिषदलाई लेखी पठाउन आदेश गरेको थियो।

बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले उच्च अदालत पोखराले गरेको निर्णय कार्यान्वयन नगर्न र निर्णय गर्नुको कारणसमेत पेश गर्न समेत आदेश दिएको थियो। गोर्खा ब्रुअरीलाई ८८ करोड ८१ लाखभन्दा बढि अन्तशुल्क निर्धारण गरेको भन्दै त्यसविरुद्ध बु्रअरीले कार्यालयको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेको थियो। रिटमाथि सुनुवाई गर्दै नरबहादुर शाही र जीवनहरि अधिकारीको इजलाशले असार ११ गते आन्तरिक राजश्व कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपनि आदेशविरुद्ध राजश्व कार्यालय भरतपुरले सर्वोच्चमा रिट दायर गरेको थियो।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पोखरा उच्च अदालतको आदेश बदर गर्दै न्यायाधीशलाई समेत छानबिन गर्न आदेश दिएको थियो।