विप्लव समूहले आह्वान गरेको बन्दको देशभर प्रभाव : कहाँ के भयो ?

विप्लव समूहले आह्वान गरेको बन्दको देशभर प्रभाव : कहाँ के भयो ?
बुधबार, साउन १५, २०७६

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहको बन्दका क्रममा विभिन्न स्थानमा प्रभाव परेको छ ।

बन्दका क्रममा कतै विस्फोट तथा कतै आगजनी भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को कार्यलयमा आगलागी भएको छ । आज
(बुधवार) बिहान भएको आगलागिबाट कार्यालयका सम्पूर्ण कागजपत्र सहित वडा कार्यलय जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिएका छन् ।

त्यस्तै नुवाकोटको ककनी गाउँपालिका वडा नं. १ को कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । गएराति भएको विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र जलेर नष्ट भएका छन् । वडाअध्यक्ष चन्द्रबहादुर श्रेष्ठका अनुसार रातको १२ बजेतिर ५÷६ जनाको समूहमा आएकाहरुले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचर लगायतका समाग्री एकैस्थानमा राखेर आगजनी गरि बम विष्फोट गराएका हुन् ।

ठूलो आवाज सहितको विष्फोटले वडा कार्यालय रहेको भवनको झ्याल ढोका, गाह्रो तथा ढलान समेत फुटेको प्रहरीले जनाएको छ । विष्फोट भएको स्थान नजिकै जनसत्ता नुवाकोटको नाममा भेट्टिएको पर्चामा वडाअध्यक्ष कार्यालयमा नबसी काठमाडौ बस्ने गरेको, फर्जी बिल बनाएर राजश्व घोटला गरेको, नदी दोहनमा संलग्न रहेको, स्थानीयबासीले निर्माण गरेको मन्दिरको सिँढी वडा मार्फत बनाएको भनेर १७ लाख रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।

त्यसैगरि आज(बुधवार) विहान मकवानपुरमा २ वटा सवारी साधनमा आगजनी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका ज्यामिरेमा ना ५ ख १७३९ नम्बरको ट्रक र हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तरगत ईन्द्रसरोबर गाउँपालिका हनुमाने भञ्ज्याङमा बा १४ च ८२३५ नम्बरको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यलयम मकवानपुरले जनाएको छ ।
आगजनीपछि प्रहरीले मकवानपुरको सुरक्षा व्यवस्था कडा पारेको छ । मकवानपुरका उद्योग, कलकारखाना, शैक्षिक संस्था, बजार बन्द छन् । छोटो दुरीका साना सवारी आंशिक रुपमा चलेपनि राजमार्ग र लामो दुरीका सवारी ठप्प छन् ।

त्यसैगरि कैलाली– प्रतिबन्धित नेपाल कम्युस्टि पार्टी (नेकपा) ले कैलालीको बौनियामा ४३ बिघा जग्गा र चार जनाको घर कब्जामा लिएको छ । नेकपाले कब्जामा लिएको जग्गामा पार्टीको झण्डा र ब्यानर टाँगेको छ ।

विप्लव समूहले बीरबहादुर मल्ल र राजेन्द्र मल्लाको ३५ बिघा जमिन र घर कब्जामा लिएको हो भने देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सूदूरपश्चिमाञ्चल ग्रामिण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठासमेत गरि ४३ विघा १० कट्ठा जमिन कब्जामा लिएको हो ।

कब्जा गरिएको ब्यानरमा सशस्त्र युद्धका क्रममा कब्जा गरिएको सबै जग्गा पुन कब्जा गरेको उल्लेख छ । उक्त जग्गा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा पनि कब्जामा लिइएको थियो ।