चीनमा पनि ठगिए नेपाली कामदार : महिनाभरी काम गरेको ज्याला ५ हजार मात्रै !

title
बुधबार, साउन १५, २०७६

काठमाडौं- नेपालीको प्रमुख आम्दानी मध्येको एक वैदेशिक रोजगारी हो । धेरै आम्दानी गर्ने वैदेशिक रोजगारी नेपालीका लागि भने सँधै पीडादायी हुने गरेको छ । मलेसिया तथा खाडीका मुलुक तथा अन्य मुलूक पुगेन नेपाली श्रमिक जताजतै ठगिने गरेका छन् ।

नेपालमा म्यानपावर कम्पनी र दलालबाट ठगीमा पर्ने कामदार विदेशमा पुगेपछि कम्पनीका मालिकबाट ठगिने गरेका छन् । यो समस्या पछिल्लो श्रम गन्तव्यका रुपमा विकास हुँदै गरेको छिमेकी राष्ट्र चीनमा पनि देखिएको छ । रोजगारीका लागि चीन पुगेका ४४ जना महिला सम्झौता अनुसारको सेवासुविधा नहुँदा नेपाल फर्किएका छन् । उनीहरु अहिले आफूहरु पीडित भएको भन्दै न्याय माग्दै वैदेशिक विभाग धाउन थालेका छन् ।

चीनको ल्याओनिङ प्रान्तमा रहेको चेतनाथजी, गार्मेन्ट फ्याक्ट्रीमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएर गौशालास्थित कम्पास रिक्र्युटमेन्ट प्रालिले ४४ जना महिला चीन पठाएको थियो । म्यानपावरले ५ सय डलरमा करार सम्झौता गरी चीन पुर्‍याएका महिला कामदार डेढ महिना मै स्वदेश फर्किएका छन् ।

सम्झौता अनुसारको सेवा सुविधा नपाएपछि पीडित बनेका महिलाहरु न्याय माग्दै वैदेशिक रोजगार विभाग पुगेका छन् । म्यानपावर सञ्चालक राम कार्कीले मासिक ५ सय डलर कमाइ हुन्छ भनेर चीन रोजगारीमा पठाएपनि भनेजस्तो नभएको वैदेशिक रोजगार विभागमा पुगेकी ताप्लेजुङकी सुनिता लिम्बूले बताइन् । गौशालास्थित कम्पास रिक्र्युटमेन्ट म्यानपावरले कपडा प्याकिङ गर्ने कामका साथै आकर्षक तलब पाइने भनेर पठाएको नुवाकोटकी चिनीमायाँ तामाङले बताइन ।

विभिन्न प्रलोभनमा चीन पठाइएका नेपाली चेलीले काम नै गर्न नसकेको पीडितमध्ये एक महिला ताप्लेजुङकी संगीताको भनाई छ । त्यसपछि कम्पनीले काम लगाउन अप्ठयारो मानेको उनले बताइन । वैदेशिक रोजगार विभागमा भेटिएका पीडित महिलाहरुले चीन पुगेपछि मात्र कम्पनीले १ सय ५० डलर मासिक तलब हुने जानकारी गराएको उनीहरुको भनाइ छ । सम्झौता अनुसार काम र पैसा दुवै नभएपछि म्यानपावर सञ्चालकलाई पटक पटक गरिएको आग्रहमा कार्कीले वेवास्था गरेको उनीहरुको गुनासो छ।

म्यानपावरले समस्या समाधानका लागि कुनै पहल नगरेपछि पीडित महिलाहरुले दूतावासको सहयोग लिएका थिए । चीनस्थित नेपाली दूतावासले घटनाक्रमसँगै महिलाहरुको अवस्था बुझेपछि गत सोमबार नेपाल आउने वातावरण मिलाएको थियो ।

४४ महिला रोजगारीमा पठाउने कम्पास रिक्र्युटमेन्ट म्यानपावर सञ्चालक भने सम्पर्कमा नआएको पीडित महिलाहरुले बताएका छन् । उनीहरु हाल विभागमा म्यानपावर कम्पनीका नाममा उजुरी दिएका छन् । घटनाका बारेमा अनुसन्धान गरेर म्यानपावर कम्पनीमाथि कारवाही हुने विभागका निर्देशक हरी ज्ञवालीले बताए । म्यानपावर कम्पनीले कसरी चीन पठायो र किन सम्झौता अनुसारको काम गर्न सकेन भन्ने विषयमा दुवै पक्षसँग छलफल गरिने ज्ञवालीले बताए ।