प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित

title
बिहिबार, साउन १६, २०७६

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आव्हान गर्नुभएको सर्वदलिय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाईएको बैठक सुचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । नेत्र विक्रम चन्द्र विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका छन् ।

पौडेल लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसंगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग गर्दे आएको हो । त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अवैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीेले चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो ।