नख्खु कारागारमा कैदीबीच कुटाकुट, एक जनाको मृत्यु

title
शुक्रबार, साउन १७, २०७६

काठमाडौं‌- नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा परी कैदी पूर्णबहादुर राजीको मृत्यु भएको हो ।

कोमलकुमार महतोले पूर्णबहादुर राजीलाई आक्रमण गरेका थिए । महतोले सिमेन्टको ब्लकले हानेका थिए । पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रमण गर्ने दुवै कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । अहिले घटनास्थलमा पुगेको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । आक्रमण गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कारागार सुरक्षा कार्यालय नख्खुका एक अधिकारीका अनुसार दुवैजनाबीच यसअघि विवाद थिएन । झडपमा ज्यान गुमाएका राजी मानसिक रुपमा केही अस्वस्थ थिए ।

शुक्रबार विहानको खाना खाइसकेपछि दुवैजना सँगै बसिरहेका थिए। एकाएक दुईबीच कुरा नमिलेपछि कोमलले सिमेन्टको ब्लकले पूर्णबहादुरको टाउकोमा हिर्काएर घटना भएको प्रहरीले जनाएको छ।