‘रअ’ प्रमुख गोयलको भ्रमण र भेटघाटले नेपाली राजनीति तरंगित, प्रधानमन्त्रीसँगको छलफल किन गोप्य ?

title
शनिबार, साउन १८, २०७६

काठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’का नवनियुक्त प्रमुख समन्तकुमार गोयलले नेपालका नेताहरुसँग भेट गरी स्वदेश फर्किएको एकसाता पुग्नै लागेको छ ।

तीनदिने नेपाल भ्रमणको क्रममा नेपाल आएका उनले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेट गरेका थिए । २०७६ साउन ४ देखि ६ गतेसम्म तीनदिने भ्रमण पूरा गरी गोयल साउन ६ गते स्वदेश फर्किएका थिए । उनी स्वदेश फर्केपनि भ्रमणपछि नेपाली राजनीति तरिंगत बनिरहेको छ ।

गत असारमा ‘रअ’को प्रमुखमा नियुक्त भएका mगोय नेपालबाटै भ्रमण शुरुवता गर्नुलाई कूटनीतिक चासोका साथ हेरिएको छ । टोलीमा ‘रअ’का दुई जना निर्देशकहरूसमेत रहेको समाचारहरुमा जनाइएको छ । समाचारहरुमा जनाइएअनुसार गोयलले साउन ५ गते साँझ साढे ८ बजेदेखि साढे १० बजेसम्म प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई सँगै लिएर प्रधानमन्त्री कार्यालय पुगेका गोयलसँग भएको छलफलको एजेण्डा के थियो भन्ने स्पष्ट त भइसकेको छैन तर नेपालस्थित ‘रअ’का स्टेसन प्रमुख अभिजित हल्दर र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको समन्वयमा भएको छलफलमा नेपाली पक्षका तर्फबाट प्रधानमन्त्री ओलीसहित नेकपाका महासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए ।

भारतीय नक्कली नोटको कारोबार नियन्त्रण, भारतविरोधी आतंकवादीले नेपालमा रहनसक्ने, आतंकवादी गतिविधि नियन्त्रण, खुला सीमा सुरक्षा लगाएतका बारेमा छलफल भएको जनाइएको छ ।

त्यही समयमै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेपालस्थित भारतीय राजदूतावास, लैनचौरमा राजदूतको सम्मानमा रहेको समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्रीसंगको भेटवार्तापछि साउन ६ गते गोयलले नेकपा अध्यक्ष प्रचण्ड भेट्न खुमलटारस्थित निवासमा पुगेका थिए ।

झण्डै एक दशकपछि ‘रअ’का प्रमुखले नेपाल भ्रमण गरी सरकार प्रमुखलाई भेटेको विषय कुटनीतिक क्षेत्रमा बहशको विषय बनिरहेको छ । यसअघिका रअका प्रमुख राजेन्द्र खन्ना, अनिल दसमना र आलोक जोशीले नेपाल भ्रमण नगरेको जनाइएको छ । उनी स्वदेश फर्किएपछि नेकपाका दुबैजना अध्यक्षको विदेश भ्रमणको विषयमा समेत बहश चलिरहेका बेला भदौमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको कार्यतालिका तय हुनुलाई महत्वका साथ हेरिएको छ ।