सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी

सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
बुधबार, साउन २२, २०७६

चितवन-चितवन नारायणगढस्थित बसपार्कमा रहेको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुको कारण बारेको भिडियो प्रहरीले फेला पारेको छ ।

पत्रकार पुडासैनीले भिडियो सन्देश छाडेर आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्या दुरुत्साहनवाट भएको खुलेको छ।

मृत्यु अघि उनले रेकड गरेको भिडियोमा चर्चित मिडियाकर्मी सहितका केही व्यक्तिका कारण आँफु आत्महत्या गर्न लागेको उल्लेख गरिएको छ ।

उनको मोवाईलमा रेकड गरिएका दुई भिडियो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भिडियोका आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिए।

पुडासैनीको साथवाट डिप्रेसनको औषधिसमेत फेला परेको उनले बताए। भिडियोमा सञ्चार क्षेत्रका चर्चित व्यक्तिसहितको संलग्नतामा आफूलाई पछिल्लो समय निरन्तर टर्चर दिने गरिएको उल्लेख गरिएको छ । भिडियोमा अरुले करोडौं रुपैंया कमाउने तर आफूले दुःख मात्र गरेको जनाइएको छ ।

अस्ट्रेलिया डिपेन्डेन्ट भिसामा पठाइदिने भनेर एक जना केटीको पछि लगाएको र पछि त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने रणनीति बनाएको भिडियोमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

नयाँ भिडियो सार्वजनिक भएपछि परिवारले सन्देशमा उल्लेख भएका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको छ । मृतक पुडासैनीले भिडियोमा आत्महत्या रोज्नुको बाध्यताबारे प्रष्ट जानकारी दिएको परिवार स्रोतको दावी छ ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लले आफ्नै कार्यकक्षमा मृतक पत्रकारका परिवार आफन्तहरुलाई सो भिडियो देखाएका थिए । सो क्रममा मल्लले भिडियो अडियो कसैलाई रेकर्ड गर्न नदिएको नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य एवं मृतकका छिमेकी दिपक पुडासैनीले जानकारी दिए।

भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफुले आत्महत्या गर्न लागेको जनाईएको पुडासैनीले बताए। पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पतीको बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए ।

भिडियोको आधारमा प्रहरी अनुसन्धान गरिरहेको बताएको छ । भिडियो पाउनु अघि हत्या गरिएको आशंका गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफुहरुले शव बुझेर काठमाडौं आएको पुडासैनीले बताए ।

प्रहरीले घटनको अनुसन्धान भईरहेको भन्दै विस्तृत विवरण खुलाएको छैन् । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरी प्रमुख मल्लले जानकारी दिए । पुडासैनीको शव राति काठमाडौं लगिएको थियो । उनी सोमवार राति चितवनको नारायणगढस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।