सुनको मूल्य अहिले सम्मकै उच्च, प्रतितोला ६९ हजार ५ सयमा कारोबार

सुनको मूल्य अहिले सम्मकै उच्च, प्रतितोला ६९ हजार ५ सयमा कारोबार
बुधबार, साउन २२, २०७६

रुपेशकुमार यादव

काठमाडौं-नेपाली बजारमा सुनको मूल्य क्रमशः बढ्दै गएको छ । यतिबेला सुनको मूल्य अहिलेसम्मकै बढी अर्थात ६९ हजार ५ सय रुपैयाँ प्रतितोला कामय भएको छ । एकै दिन सुनको मूल्य तोलामा एक हजार ५ सयसम्म वृद्धि भएको छ ।

बुधबारमात्रै प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन अघिल्लो दिनको तुलनामा एक हजार ५ सय रुपैयाँ वृद्धि भएको हो । विगत ४ दिनको कारोबार हेर्दा सुनको मूल्य ४ हजार ५ सय प्रतितोला बढेको छ ।

सुनको मुल्य ५ दिनमा ४ हजार ५ सयले रुपैया बढेको छ । शुक्रबार प्रतितोला ६५ हजार ८ सयमा कारोबार भएको सुन २ दिन पछि आइतबार स्थानीय बजारमा प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा पुग्यो। भोलिपल्टै सोमबार एक्कासी प्रतितोला १ हजार ५ सय बढेर प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । मंगलबार २ सयले बढेर ६८ हजारमा कारोवार भएको सुनको मूल्य फेरि १ हजार ५ सयले बढेर बुधबार ६९ हजार ५ सय रुपैया प्रतितोला सुनको मुल्य निर्धारण भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिन प्रतितोलो १ हजार ५ सय रुपैयाँले वृद्धि भएको यो नै पहिलोपटक हो । एक्कासी सुनको मूल्य बढेपछि कारोबार घटेको व्यवसायीहरुको भनाई छ । बिना सिजन सुनको भाउ बढेपछि किन्नेभन्दा बेच्नेको संख्या धेरै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको मूल्य आकाशिएको विज्ञहरुको अनुमान छ । अमेरिकाले चीनबाट आयात गर्ने झण्डै ३ खर्बको सामानमा १० प्रतिशत अन्तशुल्क लगाउने निर्णयले नै नेपाली बजारमा पनि सुनको मूल्य आकासिएको हो । विश्वबजारमा सेयर बजार कम हुँदै जानु, इरान र अमेरिकाबीचको आणविक द्वन्द्व बढेपछिको असरले सुनको मूल्य बढेको भन्दै अर्थविद डा अच्युत वाग्लेले सुनको मुल्य अन्तराष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले नेपालको कुनै हात नरहने बताए ।

सिंगारका सामानका रुपमा प्रयोग गरिने बिलासी बस्तुका रुपमा रहेको सुनको मूल्य आम नेपालीको चासोको विषय हो । नेपालीहरुको ठूला चाडपर्व नजिकिँदै गर्दा बढेको मूल्यले सबैको ध्यान खिचेको छ । विश्व बजार मै उतारचढाव भएको सुन किन्ने बेलामा आम उपभोक्ताले सोच्ने बेला आएको छ ।