ग्राण्डी अस्पतालको श्रृखलाबद्ध कर्तुत : बिरामीको जीवनसँग खेलवाड गर्दै लाखौं असुली

कमजोरी लुकाउन शक्तिकेन्द्रमा दौडधुप

title
बिहिबार, साउन २३, २०७६

काठमाडौं– धापासीस्थित ग्राण्डी इन्टरनेसनल अस्पताल यतिबेला निक्कैको खोजीमा छ । सकारात्मक कामको चर्चासँगै खोजी हुनुपर्ने यो अस्पताल चाँही नागरिकको स्वास्थ्यमा गरेको खेलवाड र लापरबाहीका कारण धेरैले खोजी गर्ने गरेका छन् । हुन पनि एकपछि अर्को गर्दै अस्पतालकै लापरबाहीका कारण बिरामीले ज्यान गुमाउन थालेपछि मृतकका आफन्तले लगातार विरोध प्रर्दशन गर्ने थलो जस्तै बनेको छ ग्राण्डी ।

नुवाकोट घर भएका दोर्जे तामाङ ग्रान्डी इन्टरनेशनल अस्पतालको लापरवाहीका घटना बारे जानकार रहेपनि ग्राण्डी नै पुगे । बुबा बन्ने खुसीमा सुविधा सम्पन्न आस्पताल खोज्दै ग्राण्डी पुगेका उनी अहिले पुरपुरोमा हात लगाएर ग्राण्डी कै परिसरमा न्याय खोज्दै भौँतारिनुपर्ने अवस्था आएको छ ।

अस्पतालका चिकित्सकको सल्लाह अनुसार आफ्नी गर्भवती श्रीमतीको नियमित चेकजाँज गरेका दोर्जेका जुम्ल्याहा सन्तान भए । स्वस्थ अवस्थाका सन्तान पाएका उनी खुसी थिए । तर, जन्मिएको भोलिपल्ट सम्म स्वस्थ र सकुशल रहेका बच्चाको स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पतालले आईसीयूमा राख्यो । अस्पतालले शिशुले दूध पचाउन नसकेको भनेर आईसीयूमा पुर्‍याएको थियो।

आईसीयूमा उपचार भइरहेको शिशुको स्वास्थ्य सुधार हुँदै आएको जानकारी पाएका दोर्जे १८ दिनपछि खिन्न भए । जब अस्पतालले स्वस्थ अवस्थामा रहेको बच्चालाई आईसीयूमा राखेर मृत अवस्थामा उनकै हातमा जिम्मा लगायो । असार २० गते बुबा बनेको क्षणले भरिएको खुसी १८ दिनपछि साउन ६ सन्तानको वियोगको पीडाले नमेटिने घाउ लगायो । एउटा सन्तान गुमाएपछि अर्को बच्चालाई पनि उनीहरुले त्यहाँबाट निकालेर अर्को अस्पतालमा भर्ना गरेपछि उनलाई जोगाउन सकेको दोर्जेको भनाई छ ।

ग्रान्डी अस्पतालले उपचारका क्रममा लापरवाही गरेर शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरे। आफन्तले दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्तिको माग गर्दै आइरहेका छन् । बास्तविकता बुझ्न खोज्न अस्पताल प्रशासनले प्रतिक्रिया दिन चाहेन । यो त ग्रान्डी अस्पतालको लापरवाहीको पछिल्लो घटना मात्र हो ।

सगरमाथा टेलिभिजनले ग्रान्डी इन्टरनेशनल अस्पतालको लापरवाही र ठगीको घटना श्रृङ्खलाबद्ध उजागर गरिरहेको छ। गत महिना मात्र पनि ग्रान्डी अस्पतालले ९ महिने शिशुको ५ पटकसम्म टाउकाको शल्यक्रिया गरेर लाखौं रुपैयाँ असुलेको प्रसङ्ग उजागर भएको थियो । बच्चाको उपचारका नाममा ३५ लाख असुले पनि स्वास्थ्यमा कुनै सुधार आएको छैन ।

यो विषयमा नेपाल मेडिकल काउन्सिलले अस्पताल उपर समिति नै बनाएर छानविन अघि बढाएको थियो । तर, निष्पक्ष भनिएको छानबिन समिति नै अहिले शंकाको घेरामा छ । अहिलेसम्म पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । यद्यपी नेपाल मेडिकल काउन्सिलका सदस्य तथा प्रवक्ता डा. ढुण्डीराज पौडेल भने अझैपनि छानविन निष्पक्ष भइरहेको र छानविनबाट दोषी भेटिए कारवाही गरेरै छाड्ने दाबी गर्छन् ।

मेडिकल काउन्सिल स्रोतका अनुसार अहिले सम्म ग्रान्डी अस्पतालका विरुद्ध सयौं उजुरी पुगेका थिए । तर, काउन्सिलबाट एउटा घटनामा पनि ग्रान्डी अस्पतालमाथि कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन । स्रोत बन्छ यसपटक पनि ग्रान्डी अस्पतालले उन्मुक्ति पाउन सक्छ ।

गल्ती लुकाउन ग्रान्डीको दौडधुप

नेपाल मेडिकल काउन्सिल स्रोतका अनुसार, ग्रान्डी इन्टरनेश्नल अस्पतालका उच्च अधिकारी आफूविरुद्ध परेको मुद्दा मिलाउन दौडधुपमा लागि रहेको छ । गत जेठ ८ मा नै अस्पताल विरुद्ध काउन्सिलमा उजुरी परेपनि अहिले सम्म कुनै ठोस निर्णय निस्कन सकेको छैन । स्रोत भन्छ–‘काउन्सिलले बनाएको छानबिन समितिले ग्रान्डी अस्पतालले गल्ती गरेको प्रतिवेदनसहित कारबाही गर्ने तयारी थालेपछि अस्पतालका उच्च अधिकारी काउन्सिललाई रोक्न लागि परेका छन् ।’

उनीहरुले विभिन्न शक्तिकेन्द्र मार्फत नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र छानबिन समितिका सदस्यलाई दबाव दिइरहेका छन् । ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डे र अध्यक्ष माफिया व्यापारी दीपक कुँवरले विभिन्न शक्तिकेन्द्र मार्फत काउन्सिलको स्वतन्त्र निर्णयमा दबाव दिन लगाएको बुझिएको छ ।

त्यसो त गत चैतमा पनि ग्रान्डी अस्पतालमा ताराप्रसाद ढुंगलेकको उपचारमा लापवाही गरेको प्रसङ्ग बाहिरिएको थियो । त्यसअघि पनि अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको प्रसङ्ग पटक पटक बाहिरिएका छन् । त्यसैले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै आफ्नो धन्दा चलाउने यस्ता अस्पताल माथि अनुसन्धान हुनुपर्छ र दोषी भेटिए कारबाहीको दायरामा ल्याउनै पर्छ ।