भारत पाकिस्तानको तनावले सार्क ओझेलमा

भारत पाकिस्तानको तनावले सार्क ओझेलमा
बिहिबार, साउन २३, २०७६

सक्षम रेग्मी
काठमाडौं– भारत सरकारले संविधानको धारा ३७० मा भएको व्यवस्था निलम्वन गरी जम्मु कश्मिरको मामिलामा नयाँ रणनीति लागु गरेपछि पाकिस्तान लगायतका बाहिरी विश्वले नकरात्मक प्रतिक्रिया जनाएका छन् ।

पाकिस्तानले भारतसँगको लगभग सबैखाले सम्बन्ध ताडेको घोषणासहित आफ्ना राजदूतलाई फिर्ता बोलाइएको छ । पाकिस्तानस्थित् भारतीय राजदुतलाई फिर्ता पठाउने निर्णय गरेको छ । यसले दक्षिण एशियामा द्वन्द्वको नयाँ अध्याय थपेको छ ।

पाकिस्तानले संयुक्त राष्ट्रसंघमा पुगिसकेको कश्मिर समस्या समाधानका लागि उदासिन बनिरहेको भारत सरकारलाई निर्णय सच्याउन सुझाव दिएको छ । यता नयाँ दिल्लीले पाकिस्तानलाई व्यापार तथा कुटनीतिक सम्वन्ध निलम्वन सम्वन्धी निर्णय समीक्षा गर्न आग्रह गरेको छ ।

जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले खारेज गरेपछि पाकिस्तान र भारत बीचको सम्वन्ध थप तनावपूर्ण बनेको हो । पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तरलाई न्यूनीकरण गरिएको र भारतको पछिल्लो निर्णयविरुद्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा आवाज उठाउने जनाउ दिएपछि दिल्ली झस्किएको हो ।

जम्मू कश्मीरलाई दिइएको विषेश अधिकार केन्द्र सरकारले फिर्ता लिएको विषयलाई लिएर चीन सरकारले पनि गम्भीर आपत्ति जनाई सकेको छ । भारतले द्धिपक्षीय सम्वन्ध र अन्तर्राष्ट्रिय कानून तोडेको र दक्षिणी हिमालय क्षेत्रमा हिंसा भड्काउन खोजेको बेईजिङको टिप्पणी छ ।

भारत र पाकिस्तान दुवैले आफ्नो भूमि भएको दाबी गर्दै आएको हिमाली क्षेत्र कश्मीरमा भारत र पाकिस्तान विभाजित् भएपछि दुबै मुलुकको शासन चलिरहेको छ। तर अहिले विशेष राज्यको मान्यता खारेज गरी दुई अलग राज्य बनाउने भारत सरकारको निर्णयले चीनलाई समेत झस्काएको छ ।

रणनीतिक महत्वको चीन–भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्ड समेत दिल्लीले भारत शासित क्षेत्रको परिधिमा राखेको चीनको आरोप छ । यति मात्र हैन जम्मु–कश्मीरकै कारण द्वन्दात्मक सम्वन्धबाट गुज्रिरहेका भारत र पाकिस्तान बीचको यो विवादको प्रभाव फेरि पनि सार्क क्षेत्रमा पर्ने देखिन्छ । यसले नेपाललाई समेत पिरोलिरहेको छ।

पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन अनिश्चित् बनिरहेको बेला नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । तर सार्कको भविष्य र नियमित सम्मेलन बारे नेपालले कश्मिर घटना पछि प्रतिक्रिया जनाएको छैन। तथापी भारतको विदेश मन्त्रालयले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई मोदी सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएको छ ।

अमेरिकाले दिल्लीको अहिलेको कदमले दक्षिण एशियाको स्थिरतामा अर्को जटिलता थपेको प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्रसंघले विवादित् भूमिमा भारतीय रणनीति प्रति चिन्ता व्यक्त गरको छ । दक्षिण एशियाका बाँकी मुलुक भने अझै पर्ख र हेरको रणनीतिमा छन् । जुन घटनाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई कोमामा पुर्‍याएको छ, र फेरि भारत र पाकिस्तान बीच कश्मिरकै विवादमा युद्ध हुन सक्ने अनुमान शुरु भएको छ।