राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न काँग्रेसको माग

title
शुक्रबार, साउन २४, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय परिचय पत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका सांसदहरु दिलेन्द्रप्रसाद बडु, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले कानुन निर्माणका बारेमा संसदीय समितिमा छलफल भईरहेकै बेला परिचय पत्र वितरणको कामलाई जारी राखेकोमा आपत्ति जनाउँदै तत्काल स्थगित गर्न सरकारसँग माग गर्नु भएको हो ।

आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिंदै कांग्रेस सांसद बडुले कानुन निर्माणको पाटोमा संसदीय समितिमा छलफल भईरहेकै बेला परिचय पत्र वितरण गरेर सरकारले गल्ती गरेको दावी गर्दै तत्काल स्थगित गर्न माग गर्नु भयो । बैठकमा समितिका सदस्यहरुले हालसम्म वितरण गरिएको राष्ट्रिय परिचय पत्रको कानुनी आधार बलियो नभएकाले यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराएका थिए ।