अमेरिकामा हिंसा बढ्दा नेपाली प्रभावित

title
शुक्रबार, साउन २४, २०७६

सक्षम रेग्मी

काठमाडौं- शक्तिशाली र सुरक्षित मानिएको अमेरिकामा हत्या हिंसाका घटना बढ्न थालेका छन् । गत दुई हप्तामा मात्रै चार वटा हत्या हिंसाका घटना घटे । युवा अवस्थाका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा भड्ने हिंसाका कारण नेपाली पनि प्रभावित हुने गरेका छन् ।

गत जुलाई २८ मा क्यालिफोर्नियाको गिल्रोयमा भएको ‘गिल्रोय गार्लिक फेस्टिबल’मा १९ वर्षे युवाले अन्धाधुन्द गोली चलाए । यो घटनामा ३ जनाको ज्यान गयो १३ जना घाइते भए ।

घटनास्थलमा रहेको प्रहरीले ती युवालाई इन्काउन्टर गर्‍यो । त्यसको पाँच दिनपछि अगस्ट ३ मा टेक्सासको एल पासोमा २१ वर्षे युवकले गोली चलाउँदा २२ जनाको ज्यान गयो २४ जना घाइते भए । त्यो घटनाको १३ घण्टापछि नै ओहायोको डेटोनमा एक जना २४ वर्षे व्यक्तिले ९ जनालाई मारेर १४ जनालाई घाइते बनाए । उनी पनि प्रहरी इन्काउन्टरमा मारिए ।

गत बिहिबार मात्रै क्यालिफोर्नियाको गार्डेन ग्रोभमा ३३ वर्षे व्यक्तिले केही पसलमा लुटपाट गर्दै विभिन्न ठाँउमा चार जनाको चक्कु प्रहार गरी हत्या गरे र २ जनालाई घाइते बनाए । यस्ता घटना अमेरिकामा बाक्लै घट्ने गरेका छन् । जसले अमेरिकाको सुरक्षा चुनौती नै बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानसिक समस्यका कारण यस्ता घटना हुने भन्दै यसको व्यवस्थापनका लागि राज्यले काम गर्ने बताएका छन् ।

यता अमेरिकी सुरक्षा क्षेत्रमा काम गर्ने अधिकारीहरुले भने हतियारको लाइसेन्स सहजरुपमा वितरण गरिने भएकाले सनकका भरमा युवाहरुले यस्ता घटना घटाउने गरेको विश्लेषण गरेका छन् ।

यस्ता घटनामा संलग्न हुने व्यक्तिहरुको गरीबी, मादक पदार्थ सेवन, शहरीकरण, कडा आपराधिक न्याय प्रणालीजस्ता फरक कारण र पक्षहरु भएपनि अमेरिकामा बन्दूकको ठूलो मात्रामा हुने आपूर्ति नै सार्वजनिक स्थानमा हिंसा हुनुको प्रमुख कारण भएको अमेरिकी सञ्चारमाध्यम संस्थाहरुको दाबी छ । एक तथ्यांक अनुसार अमेरिका विश्वमै आफ्ना नागरिकलाई सबैभन्दा धेरै हतियार दिने देश हो ।

अमेरिकी कानून अनुसार आफ्ना नागरिकलाई आफ्नो सुरक्षाको लागि हतियार राख्ने अधिकार भएपनि यसको दुरुपयोग रोक्न सकेको छैन । यसरी अमेरिकामा हुने हिंसात्मक घटनाले नेपाली पनि प्रभावित हुन थालेका छन् । नेपालीभाषीको बाहुल्यता रहेको टेक्सासबासीहरुले अमेरिकाको बसाई असुरक्षित र चुनौतीपूर्ण बन्दै गएको गुनासो गर्ने गरेका छन् ।