एउटा अध्ययनको निष्कर्षः गण्डकी प्रदेशको राजधानी कास्कीमा १० वर्षअघि जस्तो एकजुटता थियो, अहिले त्यस्तो छैन

title
शनिबार, साउन २५, २०७६

कास्की । कास्कीको पोखरा महानगरपालिका जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठुलो स्थानीय तह हो । त्यहाँ वौद्धिक, वुद्धिजीवी, उद्योगी, व्यवसायीहरु, डाडाँकाँडाका पर्यटन होटल व्यवसायीहरु र मझौला व्यवसायीहरु, कृषकसँगै धेरै किसिमका नेपालीहरु विभिन्न पेशा गरी बसेका छन् । जहाँका व्यापारीहरु, वुद्धिजीवीसँगै स्थानीयबासिहरु समेत गण्डकी प्रदेश र आफ्नो क्षेत्र विकासका लागि अग्रसर भएको पाइदैन । एउटा गैरसरकारी संस्थाले गरेको सर्वेक्षणअनुसार अपेक्षाअनुसारको विकासको काममा सामुहिक रुपमा सहभागी नभएको निष्कर्ष निकालेको हो ।

आदिवासी समुदायको बहुसंख्यक बसोबास रहेको कास्कीमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, तामाङ, कुमाल, धिमाल, केही मात्रामा कुसुण्डा समेत रहेका छन् । त्यसबाहेक विभिन्न आदिवासी तथा फरक–फरक जातिका दलित समुदायको समेत एकआपसमा सौहार्दपुर्ण तरिकाले कास्कीका विभिन्न क्षेत्रमा बसोबास रहेको छ ।

तर विभिन्न समुदायका मानिसहरुका बिचमा औपचारिकताका लागि मात्रै एकआपसमा बोलचाल गर्नेबाहेक घनिष्ट सम्बन्ध राख्ने नगरेको उक्त सर्वेक्षणले देखाएको छ । व्यक्तिगत काममा बाहेक सामुहिक कामका लागि समुदायको सहभागिता समेत केही मात्रामा गुरुङ र मगर समुदायको मात्रै रहेपनि अन्य समुदायको त्यस्तो भुमिका अग्रपंत्तीमा नरहेको अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशको सरकारले यस प्रदेशको कास्कीसहित अन्य जिल्लामा समेत रहेका ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, तामाङ, कुमाल, धिमाल, दलित समुदाय र केही मात्रामा कुसुण्डालाई समेत विकासमा अग्रपंत्तीमा ल्याउन नसकेको समेत सर्वेक्षणले देखाएको छ । पर्यटन विकासको नारा बोकेको प्रदेश सरकारले त्यसअनुसारको लक्ष्य हासिल गर्न स्थानीय समुदायलाई परिचालन गर्न नसकेको समेत अध्ययनले देखाएको छ । शहरी क्षेत्रमा केही प्रभावकारी भएपनि खोला, डाँडाकाँडा र गाउँमा त्यसको प्रभाव शुन्य देखिएको छ ।

गैरसरकारी संस्थाले गरेको अध्ययनको एउटा विषय यस्तो देखाइएपनि अन्य विभिन्न क्षेत्रमा गरेको अध्ययनको निष्कर्ष भने सार्वजनिक हुन बाँकी छ । क्रमिक रुपमा अन्य विषयको निष्कर्ष समेत सार्वजनिक गर्ने संस्थाका प्रतिनिधि रमेशचन्द्र अधिकारीले जानकारी दिए । पर्यटकीय सम्भावना बोकेको र रमणिय क्षेत्रका रुपमा समेत रहेको कास्कीसहितको गण्डकी प्रदेशमा गुण्डागर्दी र डाडाँकाँडाको होटल व्यवसायीहरुमा युवायुवतीको ताँती देख्न सकिन्छ ।

पोखरा आसपासका प्रत्येक डाडाँकाँडामा यस्तो अबस्थामा देखिने युवायुवतीको ताँतीले युवा पुस्ताप्रति भरोसा गरिएको डाक्टर, इञ्जिनियर, सिए, वकिल, व्यापारी, उद्योगीसँगै अन्य विभिन्न क्षेत्र नै धरासायी बन्न सक्ने समाजशाष्त्रीहरुले बताएका छन् । जसका कारण नेपालको भविष्यका रुपमा लिइने युवापुस्ताप्रति नै शंका शुरु भएको छ । युवा पुस्तालाई लगनशिल बन्ने र सुन्दर भविष्य निर्माणका लागि प्रदेश सरकारले समेत चनाखो भएर आवश्यक कार्यक्रम ल्याउनुपर्ने सुझाव समेत दिइएको अर्का प्रतिनिधि श्रीकृष्ण सिग्देलले बताए ।

यता सर्वेक्षणमा स्याङ्जा वयरघारीका नाम बताउन नचाहने एकजना महिला अहिले सामाजिक शोषण र महिला हिंसासँगै हेलत्वको भावनाका कारण समस्या परेको बताइन् । महिलाले दिनभरी काम गरेपनि पुरुष भने दिनभरी जाँडरक्सी सेवन गरी महिला हिंसा गर्ने गरेको बताइन् । गोरखाका गोर्जे परियारले छुवाछुतका कारण समस्या आएको बताएका छन् । सबैको रगत एउटै भएको भन्दै परियारले गण्डकी प्रदेश सरकारले सामजिक रुपमा भेदभावको अन्त्य गर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएका छन् । तनहुँ जिल्लाका सुकदेव खनाल भन्छन्, सबै आफ्नो स्थानमा उचो रहेको र सबैले सबैको मर्यादा राख्नुपर्ने बताए । उनले सामाजिक रुपमा सबैलाई एउटै व्यवहार गर्नुपर्ने र कसैलाई होच्याउने, घोच्याउने, हप्काउने कसैले गर्न नहुने बताए ।

सर्वेक्षणमा पोखरा बाघमाराका सन्तराम मगरले घरगाउँमा चोरीको विगविगी बढेको बताएका छन् । उनले कुखुरा, खसी बोका, घरबाहिर रहेको भाँडाकुँडा समेत चोरी हुने गरेको बताएका छन् । उनले सामाजिक रुपमा इज्यतको सवालका कारण कोही पनि बोल्न नसकेको बताए । प्रहरी प्रशासनले उचित ध्यान नदिएका कारण समस्या हुने गरेको उनको गुनासो छ ।

कालिकास्थान, सौरे, हंसपुरमा जाँडरक्सी खानेको विगविगी समेत बढेको त्यहाँका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार साँझ पर्नासाथ महिला एक्लै बाहिर निस्कन नसक्ने अबस्था रहेको भन्दै सुरक्षाको उचित व्यवस्था नभएको समेत बताएकी छन् । उनले धेरै कुरा भएपनि सुरक्षाका हिसाबले सबै विषय बोल्न नमिल्ने समेत बताइन् ।

कास्कीको नागडाँडा आसपास हेम्जाकोट, धिताल , धम्पुस, काँडे, फेदी, कास्कीकोटमा पालेको मौरीघार समेत चोरी हुने गरेको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार स्थानीय स्तरमा हुने सामान्य चोरी समेत नियन्त्रण हुन नसकेको भन्दै स्थानीय सरकार भएको आभाष नै नभएको स्थानीय शिवराम क्षेत्रीले बताएका छन् ।

राजनीतिक दलका नेताहरु बजारमा बस्ने र उनीहरु सर्वसाधारको ख्याल नगर्ने गरेको भन्दै स्थानीयले चुनावका बेला आफै नमस्कार गर्दै आउने नेताहरु चुनावपछि नमस्कार समेत नफर्काउने गरेको गुनासो समेत गरेका छन् । उनीहरुले चोरीको विगविगी लगाएत स्थानीय स्तरमा टोले गुण्डाका बारेमा समेत नेताहरुसँग कुरा गर्न खोजेपनि आफ्नै कार्यकर्ताहरुसँग मात्रै उनीहरु नजिकिने गरेको स्थानीय एक विद्यालयमा अध्यापन गर्दै आएकी शान्ताकुमारी परियार, प्रतिमा क्षेत्री र माया गुरुङले बताएका छन् ।

पोखरामा अहिले लागूऔषधको विगविगी समेत बढेको अध्ययनको निष्कर्ष छ । घरमा रहेको आफन्तको गरगहना समेत बजारमा लगेर बेच्ने गरेको र त्यही पैसाले लागूऔषध किन्ने गरेको देखिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १२ कक्षासम्म पढ्ने विद्यार्थीहरुमा सबैभन्दा धेरै मात्रामा यस्तो समस्या देखिएको छ । जुन समस्या दिनप्रतिदिन विकराल बन्दै गएको अध्ययनमा देखिएको छ । निजी क्षेत्रका विद्यालय सञ्चालक र प्रधानाध्यापकले समेत यस विषयमा गम्भिर ध्यान दिनुपर्ने समेत देखिएको छ । समयमै ध्यान दिन नसके यसको समस्या झनै विकराल बन्ने र भविष्यमा समेत यसको असर देखिनसक्ने प्रमिला बस्नेतले बताएकी छन् ।

पोखरा महानगरपालिकामा गुण्डाहरुको विगविगी रहेको समेत देखिएको छ । पल्सर मोटरसाइकल सवार हुने, दिनदहाडै गुण्डागदी गर्ने र जग्गा व्यपारीहरुसँग, स्थानीय व्यवसायीहरुसँग रकम असुल्ने र प्रहरीमा उजुरी गरे नेतासँग चिनजान रहेको भन्दै जोगिने गरेको समेत देखिएको छ । खासगरी हेम्जाबेसी, पोखरा, लामाचौर, बाटुलीचौर, लेकसाइड, रानीपौवा, माटेपानी, कुडाँर, औद्योगिक क्षेत्र, पेन्सन क्याम्प, रामबजार, नयाँबस्ती, पार्दी, लेखनाथ रिठेपानी, सिसुवा, वेगनाशताल, सैनिकबस्ती, भण्डारढिक, तालचोक, डाडाँको नाक, कोत्रे, गगनगौडा, खुदीको मुहान, विजयपुर, कन्दानेडाँडा लगाएतका क्षेत्रमा जग्गा व्यवसायीहरुले स्थानीय गुण्डामार्फत् मात्रै विक्रि वितरण गर्न पाइने गरेको देखिएको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणमा अच्युतप्रसाद लम्सालले दिएको जानकारीअनुसार स्थानीय स्तरमा धेरै समस्या रहेको देखाएको छ । घिरम्लाचोर, सागसब्जी र कुखुराचोरको समेत विगविगी बढेको स्थानीयले बताएका छन् । त्यतिमात्रै होइन, बच्चाबच्चीले लगाएको गरगहना समेत लुटपाट हुने गरेको स्थानीयको भनाई छ । तर प्रहरीले टुलुटुलु हेरेर मात्रै बस्ने गरेको लम्सालको भनाई छ ।