क्षतिग्रस्त सडक र पुल तत्काल मर्मत संभार गर्न विकास समितिको निर्देशन

title
आइतवार, साउन २६, २०७६

काठमाडौ । संसदीय समितिले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, संभार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको आज(आईतवार) सिंहदरबारमा बसेको बैठकले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोद्वार तथा पुनर्निर्माण कार्य कसले बनाउने भन्ने अन्यौलता हटाउन समेत सरकारलाई सचेत गराएको छ ।

समितिले विना अध्ययन जभाभावी सडक निर्माण कार्य नगर्न नगराउन पनि सरकारलाई निर्देशन दिएको छ । राज्यको स्रोत, साधनको दुरुपयोग हुन नदिन र वातावरण विनाश हुन नदिन पनि त्यस्ता गतिविधि तत्काल रोक्न उसले सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्भार र पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने जवाफ दिनु भएको थियो दिएका छन् ।

बैठकमा मन्त्री महासेठले सडक डिभिजन अन्तरगत वर्षात्का कारण ४५ वटा पुलमा क्षति भएको र त्यसको मर्मत, सम्भार र निर्माणका लागि करिव ४७ करोड ३४ लाख बजेट लाग्ने जानकारी दिएका छन् ।

गत असार २६ गतेबाट लगातार ३ दिनसम्म आएको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मुलुकभर मानवीय क्षति समेत भएको थियो ।