नेपालका मुडा चीन निर्यात

नेपालका मुडा चीन निर्यात
आइतवार, साउन २६, २०७६

ध्रुव ढकाल

सुनसरी–नेपालबाट चीन निकासा हुने वस्तुहरुको सूचिमा अर्को एउटा वस्तु पनि थपिएको छ । कारागारका कैदीबन्दिहरुले तयार गरेका मुडाहरु रसुवाको केरुङ नाकाबाट चीन जान थालेसँगै चीन निकासा हुने बस्तुको सूचि बढेको हो ।

कारागारलाई सुधार गृहको रुपमा विकसित गर्ने सरकारी नीति अनुरुप यतिबेला विभिन्न स्थानका कैदी बन्दीहरु सिपमुलुक तालिममा जुटेका छन । उनिहरुले कारागारमा कैदमात्र भुक्तान गरेका छैनन, सिपमुलक तालिमलाई व्यवहारमा उतार्दै आयआर्जन समेत गरिरहेका छन ।

यस्तै आयआर्जन गराउने कारागारमा पर्छ सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागार । यहाँबाट कैदी बन्दीहरुले निर्माण गरेका मुडा चीनसम्म निर्यात हुन थालेका छन । नेपाली मुडा आकर्षक, गुणस्तरीय र टिकाउ भएपछि चीनमा यसको माग बढेको छ ।

जेल प्रशासनका अनुसार क्षेत्रीय कारागार झुम्काबाट गत मंसिरदेखि साउनसम्म मात्र रसुवाको केरुङ नाका भएर २१ हजार ५ सय ७ वटा मुडा निर्यात भएको क्षेत्रीय कारागार झुम्काका जेल डा. कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

२०६९ कात्तिक २३ गते क्षेत्रीय कारागारबाट १२ जना कैदीबन्दी सुरुङ् खनेर भागेपछि प्रशासनले उच्च सर्तकता अपनाउँदै कैदीबन्दी सुधार गर्ने अभियान थालेको थियो । सोही अभियानले सार्थकता पाउँदै गर्दा कैदीहरु मासिक रुपमा ५ हजार देखी १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको क्षेत्रीय कारागार झुम्काका कैदी विक्रम राईले बताए ।

कारागारमा बनाएका मुडामध्ये धेरैजसो काठमाण्डौं जाने गरेको छ । यस्तै पोखरा,वीरगञ्ज, चितवन,गाइघाट, पथलैया, बुटवल, रौतहट, उदयपुर लगायतका शहरमा समेत झुम्का कारागारमा निर्माण गरिएका मुडाहरु पुग्ने गरेको छ ।

झुम्का कारागारमा दैनिक २ सय वटा सम्म मुडा निर्माण हुने गरेका छन । यसका लागि झण्डै ५ सय जना कैदीबन्दीहरु सक्रिय हुने गरेका छन । कारागारमा मुडा मात्रै नभएर अन्य फर्निचरका सामानहरु पनि उत्पादन हुँदै आएको छ ।

कलात्मक ढंगले कुँदेका काठका फर्निचर, फोटोफ्रेम अन्य हस्तकलाका समाग्रीहरु पनि उत्पादन हुने गरेको छ । जसले कैदी बन्दीहरुलाई आम्दानीको अवसर दिएको छ ।

अपराध कर्म गरे पनि कारागार भित्रै सिप सिक्न पाउँदा भोली समाजमा पुर्नस्थापित हुन सहयोग पुग्ने कैदीबन्दीको भनाई छ । यस्ता सिपयुक्त कामले अपराध भुक्तान गर्न कारागार पुगेका कैदीबन्दिहरु उद्यमी बनेर फर्कने अवस्था सृजना गरेको छ ।