साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड
सोमवार, साउन २७, २०७६

काठमाडौं– आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लागेको छ । .
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ ।

साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् ।

साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

यसैबीच, भगवान शिवका उपाशकहरुलेले साउन महिनाको बोलबम यात्रा पूरा गरेका छन् । साउने सोमबारका दिन स्वच्छ र सफा जलाशयबाट जल लगेर शिबलाई चढाउने प्रचलन अनुसारको बोलबम यात्रा निकालेका हुन् ।

शिवजीको प्यारो महिना साउन र बार सोमबार । यसैले होला शिव उपाशक भक्तजनहरु साउनको हरेक सोमबार बोलबम काबर यात्रा गर्ने गर्दछन् ।

काठमाडौंको शुन्दरीजलबाट पशुपतिनाथसम्मको बोल बमयात्रा विहान निकालिएको हो । शिब उपाशक भक्तजनहरुले गेरु वस्त्रमा खालि खुट्टाले पैदल यात्रा गर्दै, सफा र स्वच्छ जलाशयसम्म पुगी जल भरेर पशुपतिनाथको शिवलिंगमा चढाउने प्रचलन छ ।

हरेक बर्षको काँबर यात्रालाई सहजिकरण गर्दै आएको भोलेनाथ कावरिया संघले भक्तजनको भोलेनाथ प्रतिको आस्था, धार्मिक प्रचलन र पुरानो संस्कार बचाउन विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।