बैद्य साझेदार चिनियाँ ह्वासिन सिमेन्टलाई दिएको जग्गा भाडा सम्झौता रद्द गर्न लेखा समितिको निर्देशन

बैद्य साझेदार चिनियाँ ह्वासिन सिमेन्टलाई दिएको जग्गा भाडा सम्झौता रद्द गर्न लेखा समितिको निर्देशन
सोमवार, साउन २७, २०७६

काठमाडाैँ । धादिङको रोराङ गाउँपालिकामा सयौं रोपनी खोलाको जग्गा मिचेर निर्माण गरिरहेको सुरज बैद्य साझेदार चिनियाँ ह्वासिन सिमेन्ट उद्योगलाई जग्गा भाडामा दिन गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

लेखा समितिबाट गठित उपसमितिले गत साता बुझाएको प्रतिवेदनको आधारमा आइतबार बसेको समितिको बैठकले भाडा सम्झौता रद्द गर्न सरकारलाई निर्देशन दिएको हो । समितिकी सदस्य मिना सुब्बाका अनुसार, समितिले बेनिघाटरोराङ गाउँपालिकाले ५० वर्षका लागि उद्योगलाई सार्वजनिक जग्गा भाडामा दिन गरेको रद्द गर्न निर्देशन दिएको छ ।

त्यसैगरी उद्योगले बनाइरहेको कारखानासम्म पुग्ने विद्युतीय प्रशारण लाइन निर्माण गर्दा अनिवार्य मुआब्जा दिन, खोला किनाराको जमिनको सुरक्षा गर्न र सिमेन्टको फ्याक्ट्री सुरक्षीत स्थानमा राख्न समेत निर्देशन दिएको छ । यस्तै समितिले समितिले बिस्तृत परियोजना अध्ययनप्रतिवेदन अर्थात डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै उद्योगसम्म पुग्ने शाखा सडक निर्माण गर्न पनि निर्देशन दिएको छ ।

यस अघि सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले लेखा समितिमा बुझाएको प्रतिवेदनमा ह्वासिन सिमेन्टका लागि धादिङमा ५० वर्षका लागि लिएको जग्गा भाडा सम्झौता रद्द गर्न र त्यसमा संलग्न अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको थियो । यसअघि ह्वासिन सिमेन्ट उद्योग भित्र खोलो पस्दा मापदण्ड विपरित निर्माणाधिन भौतिक संरचना लगाएतमा क्षेति पुगेको थियो ।

के छ त ह्वासिन सिमेन्ट उद्योगको वास्तविकता ?
१५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले बैद्य अर्गनाइजेशन सँगको साझेदारीमा उद्योग निर्माण शुरु गरेको चार महीना वितेको छ । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो ।सिमेन्ट उद्योगले मापदण्ड विपरित, खोलाको धार नै परिवर्तन गरेर काम गरिरहेको थियो । हामीलाई प्राप्त प्रमाण अनुसार, उद्योगले मलेखु खोलाको १ सय २१ रोपनी जग्गा कब्जा गरिसकेको छ भने अरु सयौं रोपनी खोलाको जग्गामा आफूखुसी काम गरिरहेको छ । यो विषयमा उद्योग विभागले पनि अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार, विरोधमा उत्रनेलाई ह्वासिन सिमेन्टले दबाब र आर्थिक प्रभावमा पारेर विरोध गर्नेहरुलाई पाखा लगाउने गरेको छ । यतिमात्र होइन, ह्वासिन सिमेन्ट र नेपाली साझेदार सुरज बैद्यले केही जनप्रतिनिधि र पहुँचवाला स्थानीयलाई हातमा लिएर सरकारी जग्गा आफूअनुकुल प्रयोग गरिरहेका छन् । यो विषय संसदको विकास तथा प्रविधि समितिमा समेत अनुसन्धान गरेको थियो । तर दबाब र प्रभावकै कारण अनुसन्धान टुंगोमा पुग्न भने सकेको छैन । ह्वासिन सिमेन्टका नेपाली साझेदार, सुरज बैद्यले भने यो विषयमा कुनैपनि प्रतिक्रिया दिन मानेका छैनन् । नेपाली भूमीमा आएर सयौं रोपनी जग्गा कब्जा गरि मापदण्ड विपरित आफूखुसी काम गर्ने उद्योगलाई कहिले हुन्छ कारवाही ? आम नागरिकको चासो र प्रश्न हो यो ।