काँकरभिट्टाबाट अवैध हतियारसहित एकजना पक्राउ

काँकरभिट्टाबाट अवैध हतियारसहित एकजना पक्राउ
सोमवार, साउन २७, २०७६

झापा । नेपाल–भारतको सीमावर्ती नाका पानीट्याङ्कीमा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ स्थित गैरीगाउँका ३७ वर्षीय कीर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ । भारतको पानी ट्याङ्की नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ४१ नं बटालियन रानीडाँगाको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको बताइएको छ । उनलाई आइतबार साँझ विशेष सुराकीका आधारमा पानीट्याङ्कीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो ।

सिटी सफारी चालक रहेका चौधरी मे १ ह ६९५० नम्बरको सफारी लिएर भारत पुगेको र सोही सिटी सफारीमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । भारतीय प्रहरीले उनका साथबाट ७ दशमलव ६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।

यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिबारी गाउँपालिका–५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो ।