कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी

title
सोमवार, साउन २७, २०७६

वीरगञ्ज । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्राेलीयम पदार्थ विक्री गर्दै आएको हेटाैँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो ।

फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिएको कार्यालय प्रमुख शशीभूषण यादवले बताए । यसैगरी हेटाैँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले सो उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको छ ।

पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा स्फटवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक सो ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवले बताए  । कार्यालयले आव २०७५/७६ मा अनियमितता गर्ने ५९५ कम्पनीलाई कारबाही गरी ८६ लाख ७१ हजार तीन जरिवाना असुल गरेको छ । सो अवधिमा ८९१ पम्पमा जाँच गरिएको थियो भने एक हजार ३७९ व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्रको जाँच गराएका थिए ।

सो कार्यालयले आव २०७५/७६ मा बारा जिल्लाका ६ पेट्रोल पम्पमाथि मुद्दा दायर गरी सजाय र जरिवाना गर्नाका साथै ६ पम्पमाथि मुद्दा दायर गरेको थियो ।