नेकपा सचिवालय बैठकः स्कूल विभाग विवादलगायत नेताहरुको कार्यविभाजनबारे छलफल हुने  

नेकपा सचिवालय बैठकः स्कूल विभाग विवादलगायत नेताहरुको कार्यविभाजनबारे छलफल हुने  
बुधबार, साउन २९, २०७६

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले स्कूल विभाग लगायत नेताहरुको कार्यविभाजनको टुंगो लगाउने कार्यसूची रहेको छ । नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ ।

विभागमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी छ । स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ ।

अन्य विभागको अनौपचारिक टु‌गो लागे पनि पार्टी एकता भएको एक वर्ष पूरा हुँदा समेत अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।