हवाई टिकटमा यसरी लुटिन्छन् यात्रु : थाहै नपाइ असुलेको रकम मनलाग्दी हुन्छ प्रयोग

title
बुधबार, साउन २९, २०७६

अञ्जना लामिछाने
काठमाडौं- तपाई हवाई यात्रा कत्तिको गर्नु हुन्छ ? तपाईले हवाई यात्राका क्रममा काट्ने टिकटमा कुन कुन शिर्षकमा के कति शुल्क तिर्नुहुन्छ, नियालेर हेर्नुभएको छ ? छैन भने पक्कै पनि तपाई हवाई टिकटमा लाग्ने अलग–अलग दस्तुरबारे अनभिज्ञ हुनुहुन्छ।

नागरिक उड्डयन प्रधिकरण, विमानस्थल कार्यालय, विमानस्थल विकास शूल्क, पर्यटन सेवा शूल्क, इन्धन शूल्क जस्ता अनेकौं शिर्षकमा टिकटमै एकमुष्ट भाडा लगाउनेगरेको छ। औचित्यबारे नागरिकलाई जानकारी नै नगरी प्राधिकरणले शूल्क असुलिरहेको छ, जसको उपयोगीता माथि कहिल्यै बहस भएको छैन।

आर्थिक वर्ष २०७१/०७२ देखि निरन्तर विमानस्थलबाट बाहिरिने प्रत्येक अन्तराष्ट्रिय उडानका यात्रुबाट विमानस्थल शुल्कबापत एक हजार रुपैया उठाउँदै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क उठाउने समय सकिएपछि पुनः थप ५ बर्ष शुल्क उठाउन सम्बद्ध निकायबाट स्विकृति लिएको छ।

विमानस्थलबाट बाहिरिने प्रत्येक यात्रुबाट विमानस्थल शुल्कबापत १ हजार रुपैयाँ उठाउने अधिकार यअघि असार मसान्त मै सकिएको थियो । तर, प्राधिकरणले पुनः मन्त्रीपरिषद्को निर्णय अनुसार विमानस्थल विकास शुल्क उठाउन थालेको हो।

यही शिर्षकमा बार्षिक औषत झण्डै ३ अर्व संकलन गरिरहेको प्राधिकरणले पाँच वर्षको अवधिमा झण्डै ११ अर्ब संकलन गरेको छ। यही शुल्कलाई निरन्तरताका लागि नागरिक उड्यन प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत अर्थ मन्त्रालय हुँदै पुनः मन्त्रीपरिषद् बैठकबाट पारित भएको भन्दै विमानस्थल शुल्कलाई निरन्तरता दिएको छ।

थप ५ वर्षसम्म उठाई रहेको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए।

‘हामीले विगतमा पाँच वर्षका लागि स्वीकृति लिएर शूल्क उठाएका थियौ, त्यस अवधीमा ११ अर्ब उठेको थियो, जसमध्ये चार अर्ब विमानस्थल मर्मतसम्भारमा खर्च भएको छ,’ सूचना अधिकारी पौडेलले भने, ‘अहिले त्यसलाई निरन्तरता दिन मन्त्रिपरिषद बैठकबाट थप ५ वर्षको म्याद थप भएको छ।’

प्राधिकरणका अनुसार ए.डि.एफ.बापत उठेको करिव ४ अर्व रुपौया ५ वर्षको अवधीमा विमानस्थलको स्तरन्नोतिमा खर्च भएको छ। विमानस्थल भित्र कुर्सी, साजसज्जा, सरसफाइ र भौतिक पूर्वाधार अभिवृद्धि, धावनमार्ग पुनर्निर्माणमा यही कोषको रकम खर्च भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्री पनि यही कोषको रकम खर्च गरेर यात्रु तथा सेवा लक्षित पूर्वाधार विकास गरिरहेको दावी गर्छन्। हवाइ यात्रुबाट यो शुल्क नियमित उठाउनु पर्ने र यसको पारदर्शी ढंगले तोकिए कै पूर्वाधारमा खर्च हुनुपर्ने उनको भनाई छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने दुई वर्ष भन्दा माथिका जुनसुकै यात्रुले विमानस्थल विकास शूल्कवापत विगत पाँच वर्षदेखि एक हजार रुपैयाँ तिर्दै आएका छन्। यही शुल्क जम्मा भएको खातावाट प्राधिकरणले विमानस्थलको विद्यमान धावनमार्ग पुनस्र्थापना गरी नयाँ बनाउन ३ अर्ब ७५ करोड बजेट छुट्याएको छ।

विमानस्थल मर्मत र स्तर उन्नतीसँगै कोषमा रकम रित्तिएकाले थप रकम संकलनका लागि यो शुल्कलाई निरन्तरता दिइएको प्राधिकरणको भनाई छ। गत आर्थिक बर्षमा ए.डि.एफ. शिर्षकमा २ अर्ब ६४ करोड ५० लाख रुपैयाँ संकलन भएको थियो। विमानस्थल विकास शूल्क यात्रुको सेवा सुविधाका लागि खर्च गर्न नसके यो कोषको पैसा सरकारले फिर्ता लैजाने सर्त छ।

यस्तै विमानस्थल शुल्क प्रतियात्रु दुईसय रुपैयाँ, सबै विदेशीसँग एक हजार रुपैंया पर्यटन सेवा शुल्क, भाडा बाहेकको इन्धन शुल्क सहित विभिन्न शिर्षकमा यात्रुसँग टिकटमै एकमुष्ट असुल्ने गरिएको छ। शूल्क बापतको रकम कुन निकायले कति उठाउंछन् र कसरी खर्च गरिरहेका छन् भन्ने सबै अपारदर्शी छ।