क्षतिग्रस्त सिंचाई संरचनाहरुको पुनः निर्माणका लागि ३८ करोड भन्दा बढि रकम माग

क्षतिग्रस्त सिंचाई संरचनाहरुको पुनः निर्माणका लागि ३८ करोड भन्दा बढि रकम माग
बिहिबार, साउन ३०, २०७६

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिंचाई संरचनाहरुको पुनः निर्माणका लागि अर्थमन्त्रालयसंग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभएको हो ।

उहाँले क्षतिग्रस्त संरचनाको मर्मत तथा नया निर्माणका लागि सिंचाई विभागले तयार पारेको तात्कालिन र दीर्घकालिन कार्ययोजना अनुसार तात्कालिन मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख र दीर्घकालिन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिनुभयो । गत असार २७ देखि २९ गते सम्मको अबिरल बर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराई लगायत मुलुकका विभिन्न स्थानका सिंचाई आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त बनेका छन् ।

मन्त्रालयले लाल बकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट ४० हजार थान बोरा र २ सय ५० थान नाइलन जाली तथा लाल बकैया नदीबाट विभिन्न स्थनमा भएका कटान र डुबान नियन्त्रणका लागि बागमति तथा ललबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट १ लाख ६२ हजार थान बोरा तथा ७ सय ५५ थान नाईलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने काम भएको जानकारी दिएको छ ।