राष्ट्रसंघ परिषदमा ४८ बर्षपछि पहिलो पटक कश्मीर विषयमा छलफल

title
शनिबार, साउन ३२, २०७६

एजेन्सी । भारत सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा दिने धारा ३७० को खारेज गरेपछि बसेको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा शक्ति राष्ट्रहरु विभाजीत् बनेका छन् । पाकिस्तानले यो विषयमा छलफल गर्न पत्र लेखेपछि सुरक्षा परिषद्को अनौपचारीक बैठक बसेको हो ।

बैठकपछि राष्ट्रसंघले सामान्य वक्तव्य समेत सार्वजनिक नगरेपनि भारत र पाकिस्तानका राजदूतले पत्रकार सम्मेलन गरेका छन् । राष्ट्र संघका लागि भारतीय राजदूत सैयद अकबरुद्दीनले धारा ३७० हटाउने विषय भारतको आन्तरिक मुद्दा रहेको र यसमा बाहिरी मान्छेको कुनै लेनदेन नरहेको प्रतिक्रिया दिए ।

तर राष्ट्र संघका लागि पाकिस्तानी राजदूत मलीहा लोधीले भने कश्मीर मुद्दा अन्तराष्ट्रियकरण भइसकेको र यो भारतको आन्तरिक मामिला मात्रै नभएको दावी गरेकी छन् । राष्ट्र संघको सुरक्षा परिषदका सदस्य नरहेकाले भारत र पाकिस्तानका राजदूतले संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर धारणा सार्वजनीक गरेका हुन् ।

सुरक्षा परिषदमा चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका स्थायी सदस्य छन् । बैठकपछि राष्ट्र संघको मुख्यालयमा प्रतिक्रिया दिंदै चिनियाँ राजदूत झाङ जुनले कश्मीर विवादलाई शान्तिपूर्ण तरिकाबाट समाधान गरिनुपर्ने र यो विषयमा एकतर्फी निर्णय लिन नहुने स्पष्ट पारेका छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा सन् १९७१ पछि कश्मीरबारे पहिलो पटक चर्चा भएको हो ।

तर बैठकपछि राष्ट्रसंघले सामान्य वक्तव्य समेत सार्वजनिक गरेको छैन ।