अझै केहि दिन पानी पर्ने, सतर्क रहन मौसमविद्को सुझाव

title
शनिबार, साउन ३२, २०७६

सोनी शाही

काठमाडौ–मनसुनको न्यून चापिय रेखा नेपाली आकाश आसपासमा रहेकाले देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । पूर्वी तथा पश्चिमी पहाडी भूभागका धेरै स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार “मनसुनकै सक्रियताका कारण मौसमको बदलीसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।

शनिबार राजधानी उपत्यकासहित धेरै पहाडी भू–भागमा पानी पर्ने र यो क्रम केहिदिन जारी रहने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ । जेठबाट शुरु हुने मनसुन डेढमहिना सम्म भएपनि विगत केही वर्षदेखि जेठको दोस्रो हप्ताबाट शुरु भएको मनसुन असोजसम्म नै सक्रिय रहने गरेको पोखरेलले बताइन ।

जसका कारण अझै मेघ गर्जनसहित पानी पर्ने, हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

पहाडी जिल्लामा पानी पर्ने क्रम नरोकिने भएकाले पहिरोको जोखिम रहने तथा चुरेबाट बहने नदीमा पानीको बहाव आकस्मिक रुपमा बढ्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध पनि गरेको छ ।