औषधि व्यवसायी संघ कास्कीमा विक्रम पन्त

title
आइतवार, भदौ १, २०७६

पोखरा- नेपाल औषधि व्यवसायी संघ कास्की जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन्। प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गर्दै प्रथम अधिवेशनबाट पन्तअध्यक्ष बनेका हुन्।

शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो। संघको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भए।

त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी निर्वाचित भए।

संघको उद्घाटनसत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले औषधि व्यवसायी नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक दायित्वमा ध्यान दिन आग्रह गरिन्। उनले नागरिकको लागि एकीकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको जानकारी दिइन्।

औषधि व्यवसायी ससंघ गण्डकी अञ्चलका अध्यक्ष रामबहादुर केसीले प्रादेशिक संरचना अनुसार संघले आफ्नो क्षेत्र विस्तार गरेको बताए। व्यावसायिक हकहितको पक्षमा ऐक्यबद्ध भएर सामाजिक उत्तरदायित्व बहन गर्दै संघ अघि बढ्ने उनको भनाई थियो।