नेकपा सचिवालय बैठक : ओली पुनः सिंगापुर जानु अघि एकतालाई पूर्णताउन्मुख गराउने प्रयास

title
आइतवार, भदौ १, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो चार बजेका लागि बोलाइएको छ। नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी काम पूरा गर्न छलफलका लागि बैठक डाकिएको हो ।

शुक्रबार ३१ विभाग र एकप्रतिष्टानकाे जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया पूर्णता दिएको दावी गरेको नेकपाले दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम अघि बढाउने बताइएको छ।

सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकताको विषयले पनि बैठकमा प्रवेश पाउने छ। ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम गर्ने विषयमा छलफल भएनि ती सबै विषय आजै नटुंगिने नेकपा सचिलाय सदस्यहरुको  बुझाई छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएको एक हप्तामा पुनः सिंगापुर नै जान लागेकाले पनि त्यसअघि एकतामा ठोस प्रगति होस भनेर नेकपा सचिवालय  बैठकलाई द्रुत गतिमा एकता टुंग्याउन दवाव बढेको हो।

गत साउन १८ मा सिंगापुर गएका प्रधानमन्त्री ओली गएको साउन २७ गते स्वदेश फर्किएका थिए। मृगौलाको उपचार गराएर फर्किएका ओली पुनः समस्या देखिएपछि आगामी ४ गते पुनः सिंगापुर जाने तयारीमा छन्।

यसअघि अध्यक्ष ओली सिंगापुरजाँदा अर्का अध्यक्षले बैठकसमेत नडाकेकाले नेकपाको आन्तरिक जीवनका विषयमा ओपचारिक छलफल समेत हुन सकेको थिएन।

अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ।

अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन्। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भए पनि सबै कमिटीको एकता अझै सकिएको छैन।