काबुलको विवाह मण्डपमा बम विस्फोट, ६३ जनाको मृत्यु, एक सय ८०भन्दा बढी घाइते

काबुलको विवाह मण्डपमा बम विस्फोट, ६३ जनाको मृत्यु, एक सय ८०भन्दा बढी घाइते
आइतवार, भदौ १, २०७६

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह मण्डपमा बम विस्फोट हुँदा ६३ जनाको ज्यान गएको छ ।

शनिबार राति १०ः४० बजे पश्चिमी काबुलस्थित शह्र–ए–दुबई विवाह मण्डपमा भइरहेको त्यस वैवाहीक कार्यक्रममा आत्मघाती बम विस्फोट भएको अफ्गानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नुसरत रहीमीले जनाएका छन् ।

विस्फोटमा परी एक सय ८० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अल्पसंख्यक शिया हजारा समुदायको जनसंख्या धेरै रहेको क्षेत्रमा भएको विस्फोटको जिम्मा तालीबानी लडाँकुले आफ्नो नभएको जनाएको छ ।

यो घटना कुन समूह अथवा कसले गराएको भन्ने बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । त्यस वैवाहीक समारोहमा एक हजार जना भन्दा बढी पाहुनाहरु सहभागी भएको प्रत्यक्ष्ँदर्शीले बताएका छन् ।