पहिरोले जाजरकोटको ३९ घर जोखिममा

title
सोमवार, भदौ २, २०७६

बद्री पन्त/जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–५, तोल्खाना र कालाखोली तथा नालगाड नगरपालिका–६, गराग्ली गाउँमा पहिरो जाँदा ३९ घर जोखिममा परेका छन् ।

गयराती गएको पहिरोका कारण तोल्खाना र कालाखोलीका २७ घर जोखिममा परेको स्थानीय रतनबहादुर नेपालीले जानकारी दिए । पहिरोबाट अधिकांश घर आधा तथा पुरै पुरिएका छन् । पहिरोपछि मानिसहरु भने सुरक्षित स्थानतर्फ सरेका छन् । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भारी बर्षा भइरहेकाले पहिरोबाट मानवीय क्षती नहोस भनेर स्थानीयलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको जानकारी दिए । पहिरो जाने क्रम अझै रोकिएको छैन ।

लगातारको वर्षापछि गएराती नै पहिरो जाँदा नलगाड नगरपालिका–६, गराग्ली गाउँका १२ घर पहिरोको उच्च जोखिममा छन् । गाउँको तल र माथीबाट पहिरो जाने क्रम जारी रहंदा स्थानीय १२ घर जोखिममा परेका हुन । स्थानीय बासिन्दाहरु गए राती १ वजे सुरक्षित स्थानमा गइसकेकोले मानवीय क्षती नभएको स्थानीय रणबहादुर खड्काले जानकारी दिए ।

पहिरोले धान र मकै बालीमा समेत क्षती पु¥याएको छ । गत बर्ष पनि गराग्लीगाउँका २ वटा घर पहिरोले बगाएको थियो । यसैबीच वर्षसँगै आएको हावाहुरीका कारण नलगाड नगरपालिका–६को गराग्ली, राता, फर्सा, पिउली, बडावन, भारगाउँ, गर्छिना लगायत गाउँको मकैबाली हावाहुरीले भाँचेर सखाप पारेको छ ।

धान चामल फालेर घोगा लाग्न थालेको पाँच सय घरपरिवारको सयौं रोपनी जमिनमा लगाएको मकैबाली नष्ट भएको हो । वर्षभरी खाने सवै मकै नष्ट भएपछि स्थानीय गुजारा चलाउने चिन्तामा परेका छन् ।