नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबारदेखि सुरु

title
सोमवार, भदौ २, २०७६

काठमाडौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आज(सोमवार) सिंहदरबारमा पत्रकार स्म्मेलन गर्दै उनले बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नेपाल आउने जानकारी दिएका छन् । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त रुपमा अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरावलोकन गर्ने छ । नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताएका छन् ।

कांग्रेस नेता प्रदिप गिरिले संसदको अन्तराष्ट्रिय सम्बन्ध समिमतिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउने अभिव्यक्ति दिएका छन् । परराष्ट्रमन्त्रीले गिरिको सो भनाइको खण्डन पनि गरे ।

उनले नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु काश्मीरको विषयले त्यसमा समस्या नल्याउने स्पष्ट पारे । दुई मुलुकबीच समस्या भए त्यसलाई शान्तिपूर्ण वार्ताबाट समाधान गर्न सकिने भन्दै उनले वार्ता नै एकमात्र समाधानको उपाय भएको बताए ।