हात्तीको त्रासबाट मुक्तिसँगै आम्दानी : झापामा मौलाउँदै रवरखेती

title
मङ्लबार, भदौ ३, २०७६

सुरुङ्गा- पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ। भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन।

 जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाएनन्। धानको सिजनमा धान, मकैको सिजनमा मकै थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाएका कारण उनले विकल्पको बाटो रबरखेती रोजे।

जङ्गलको नजिकै घर भएका सीतारामको खेतबारीमा लगाएको बाली वर्षेनी जङ्गली जनावर हात्ती, मृग, हरिण, बँदेलजस्ता जनावरले नष्ट गरिदिन थालेपछि बाँस्तोलाले बाली परिवर्तन गर्दै विकल्पका रुपमा रुखजन्य रबरखेती शुरु गर्नुभयो। बाँस्तोलाले भने, ‘विगत १५ वर्षदेखि रबरखेती गर्दै आएको छु, अहिले कुनै चिन्ता छैन, रबरबाट  मनग्य आम्दानी हुँदैछ।’

बहुपयोग रुखजन्य खेतीका रुपमा रहेको रबरले विरुवा लगाएको पाँच/छ वर्षदेखि मात्रै उत्पादन दिने उनले बताए।

गाउँपालिकाका अगुवा कृषकका रूपमा चिनिएका बाँस्तोलाले रबरखेती गरेको ठाउँमा हात्ती तथा अन्य जङ्गली जनावर पनि खासै नआउने गरेको जानकारी दिए। रबरलाई खेतीका रूपमा अपनाउने कृषकका आ–आफ्नै प्रभाव र अनुभव छन्। वैदेशिक रोजगारीमा रहेका स्थानीय चन्द्र अधिकारीले पनि दुवईबाटै श्रीमतीलाई फोन गरेर आफ्नो बाँझो रहेको जमीनमा रबरखेती लगाउन सल्लाह दिए। वैदेशिक रोजगारी रहेका बेला विसं २०७० मा दुवईमा आफ्नै साथीहरुबीच झगडा हुँदा सुनेको वाक्यले उनलाई रबरखेतीतर्फ प्रेरित गर्‍यो।

‘गए त्यही दुई बोट रबर त जान्छ नि, म खानले मर्दिनँ, गाउँमा टन्न रबर लगाएको छु,’ साथी-साथी झगडा गर्दा सुनेको थिएँ,’ अधिकारीले भने, ‘पछि उनै साथीहरुसँग सल्लाह लिएर आफ्नो पनि गाउँको बाँझो जमीनमा रबर रोप्न श्रीमतीलाई विदेशबाटै सल्लाह दिएँ, श्रीमतीले रबर रोप्न शुरु गरिन्। पछि म आएर सबै जमीनमा रबर लगाएँ, अहिले मलाई कुनै चिन्ता छैन।’

साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालका महासचिवसमेत रहेका अधिकारीका अनुसार अलैँची र सुपारीपछि रुखजन्य वस्तुमा बढी आम्दानी दिने रबर नै हो। स्थानीय दीपेन्द्र बाँस्तोला रबर कृषकका साथै ठेकेदारको काम पनि आफैँ गर्छन्। उनले आफ्ना बारीमा लगाएको रबरका साथै स्थानीय आदर्श नमूना सामुदायिक वनको १० हेक्टर जमीनमा लगाएको रबरबाट उत्पादित काँचो चोप खरीद गरी प्रशोधन गरेर बिक्री गर्दै आएका छन्। प्रतिकिलो ५३ मा खरीद गरेको काँचो चोप प्रशोधन गरेपछि २१० देखि २२० रुपैयासम्ममा बिक्री हुने गरेको उनको भनाई छ।

सरकारले ध्यान दिए रबरखेतीबाट किसानले प्रशस्त आम्दानी गर्न सक्ने रबरको अनुसन्धानकर्ता तेजनाथ दाहालले बताए। उनले रबरखेतीबाट साना किसानले पनि वार्षिक न्यूनतम छ लाखदेखि २० लाखसम्म आम्दानी गर्न सक्ने बताए।

झापाको पूरै जमीनमा रबरखेती लगाए पनि माग थेग्न नसक्ने दाहालको भनाई छ। सरकारले पछिल्लो समय झापालाई रबरजोन घोषणा गरेको छ। हाल झापाको मेचीनगर, भद्रपुर, अर्जुनधारा, कनकाई, गौरादह र दमक नगरपालिका तथा बुद्धशान्ति, घेराबारी, कचनकवल, बाह्रदशी गाउँपालिकाका केही भागमा व्यावसायिक रबरखेती शुरु गरिएको छ। यी क्षेत्रमा कतै सामूहिक रुपमा र कतै व्यक्तिगतरूपमै रबरखेतीको शुरुआत गरिएको छ।

विसं २०४१मा गोरखकाली रबर उद्योग स्थापना भएपछि २०४८ देखि झापामा व्यावसायिक रबरखेती शुरु गरिएको बताइन्छ। साना किसान प्राकृतिक रबर उत्पादक सङ्घ नेपालको तथ्याङ्क अनुसार अहिले झापामा २८० हेक्टर क्षेत्रफलमा रबरखेती गरिएको छ। अनुसन्धानकर्ता दाहालका अनुसार पूर्वका झापासहित इलाम र मोरङमा पनि रबरको व्यावसायिक खेती शुरु गरिएको छ।