सिंहदरवारभित्रै मृत भेटिए कर्मचारी : सिसिटिभी फूटेजमा राति ८ बजे कार्यालय छिरेको देखियो

सिंहदरवारभित्रै मृत भेटिए कर्मचारी : सिसिटिभी फूटेजमा राति ८ बजे कार्यालय छिरेको देखियो
मङ्लबार, भदौ ३, २०७६

काठमाडौ- राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन्। आयोगमामा कार्यरत नासु बच्चु केसी मृत फेला परेका हुन्।

योजना आयोगको सिसिटिभी फुटेजमा देखिएअनुसार ४५ वर्षीय केसी सोमबार कार्यालय समय सकिएर साढे ५ बजेतिर घर गएका थिए। तर, घर पुगिसकेपछि केसी राति ८ बजेतिर पुनः कार्यालयभित्र छिरेको देखिएको योजना आयोग स्रोतले जनाएको छ।

‘कार्यालय समय सकिएपछि उहाँ साढे ५ बजेतिर घर गएको देखिन्छ,’ आयोग स्रोतले भन्यो,‘पछि राति ८ बजेतिर पुनः कार्यालय छिरेको देखिन्छ।’

योजना आयोगको प्रशासन शाखाका नायव सुब्बा केसीको शव आयोगको मिटिङ हल फेला परेको थियो। मंगलबार बिहान ११ बजेतिर कार्यालयको बैठक बस्ने तयारी भइरहेका बेला केसीको शब फेला परेको हो।

‘एकजना कार्यालय सहयोगी वैठकका लागि तयारी गर्न भित्र छिर्दा केसीको शव भेटिएको हो,’ आयोग स्रोतले भन्यो, ‘केसीको शव भेटिएपछि बैठक रोकिएको छ।’

केसीको शव भेटिएको टाउँमा उनले वान्ता गरेको पाइएको छ त्यसैका आधारमा उनले बिष सेवन गरेको हुनसक्ने आशंका गरिएको छ।

काठमाडौंको कीर्तिपुर घर भएका ४५ वर्षीय केसीका एक छोरा छन्। छोरा अध्ययनका लागि हाल अस्ट्रेलिया रहेका बताइएको छ। प्रहरीले अहिले मुचुल्का गरिरहेको छ। सिंहदरवारमै विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ।