३६ घण्टा पछि पूर्व पश्चिम राजमार्गको अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालन

title
मङ्लबार, भदौ ३, २०७६

रामकुमार श्रेष्ठ/नवलपरासी । पूर्व पश्चिम राजमार्गको अरुणखोलामा अवरुद्ध सडक आज(मङग्लवार) विहानदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

प्रहरीका अनुसार एकतर्फी सडक खुलाउने र डाइभर्सन मर्मतको काम समेत चलिरहेकोले दिउँसोसम्ममा दुवैतर्फी सडक सञ्चालनमा आउने सक्ने सम्भावना रहेको छ । आइतवार सांझ ५ बजेपछि लगातारको वर्षाका कारण अरुणखोलामा पानीको सतह बढेपछि डाइभर्सनमा गाडी गुडाउन रोक लगाईएको थियो ।

३६ घण्टा पछि यातायात सञ्चालनमा आएको छ तर, सवारी साधनहरुको भिडका कारण ठाउँठाउँमा ट्राफिक जाम हँदा समस्या भएको छ । गत बुधबार विहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिंदा पुलको पूर्वदक्षिण तर्फको १० मिटर भाग डेढ मिटर गहिरो भासिएको थियो ।

पुल भासिएको १ साता वितिसक्दा पनि मर्मतका लागि कुनै पहल भएको छैन भने पक्की डाइभर्सन समेत बन्न सकेको छैन । यस अघि नवलपरासीमै गैंडाकोटको जयश्री खोला, प्रगतिनगरको लोकाहा खोला र दलदलेको भौलाहा खोलामा रहेका पुल भाँचिएर महिनौंसम्म यातायात आवागमनमा समस्या भएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीमा रहेका अधिकांश फलामे पुलहरु ६० बर्ष नाघिसकेको र जीर्ण अवस्थामा पुगेका कारण बस, ट्रकका ठक्करबाट पुलहरु भाँचिने गरेका छन । यहाँका अधिकांश पुलहरु फेर्नु पर्ने अवस्थामा रहेका छन् ।