पाँच करोड मूल्य बराबरको लागुऔषधसहित विदेशी नागरिक पक्राउ

title
बिहिबार, भदौ ५, २०७६

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै करिब ५ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित आइभेरीकोस्टका मार्सेल गुलीलाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ परेका गुली कतार एयरवेजमार्फत दोहा हुँदै नेपाल आएका थिए । उनको सुटकेसमा १ किलो ६ सय ग्राम कोकिन बरामद भएको र कोकिनको बजार मूल्य ४ करोड ८० लाख रुपैयाँ रहेको ब्युरोका डिआइजी दिनेश अमात्यले जानकारी दिए ।

उक्त कोकिन नेपाल हुँदै भारत जान लागेको अमात्यले बताए । पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।