मौलिकतामा संकट निम्त्याउने गरी सम्पदा बनाउन किन आयो विदेशी प्रविधि ?

title
शुक्रबार, भदौ ६, २०७६

अञ्जना लामिछाने
काठमाडौं–२०७२ सालको विनासकारी भूकम्पले भत्किएका नेपालका पुराना मठ–मन्दिर, देवल, सत्तल तथा दरवार पुर्ननिमार्ण निकै सुस्त भईरहेका छन् ।

ठूलो लगानी, लगनशिलता, सीप र सिर्जना मिसाईनु पर्ने यस्ता धेरै सम्पदा अहिले विभिन्न मुलुकको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेका छन् ।

यसरी विदेशी प्रविधि र परामर्शमा पुनर्निर्माण गरिँदा कतै हाम्रा धरोहर मासिने त हैनन् ? सम्पदाविद् तथा संस्कृतिविद्हरुले प्रश्न उठाउन थालेका छन् ।

२०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सम्पदामध्ये ३८० वटाको पुनर्निर्माण सकिएको छ । जसमा विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २ सय ८४ वटा सम्पदा पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार, हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुर्नस्थापना संगै तलेजु मन्दिर पनि पुनर्निर्माण भएको छ । त्यसैगरी भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिध्दिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकर नारायण लगायतका मन्दिरको पुनर्निर्माण पनि सकिएको छ ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका मुख्य मन्दिर तथा स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अन्नतपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाको पुनर्निर्माण पनि सकिएको छ ।

विभिन्न दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोग यसरी पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा पुनर्निर्माण गरिँदा हाम्रो मौलिकता मासिन सक्ने विज्ञहरुको चिन्ता छ । सम्पदा तथा पुरातत्वविद् कोषप्रसाद आचार्य भन्छन्–‘नेपाली मौलिकता र नेपाली पहिचाहन बनेका पुराना सम्पदा पुर्ननिमार्णमा विदेशी प्रविधि र विदेशी सीप प्रयोग गरिनु गलत हो । सम्पदाविद् आचार्यले यस्ता सम्पदा पुनर्निर्माणमा भक्तपुर नगर क्षेत्रबाट धेरै कुरा सिक्न सकिने बताए ।

पुरातत्व विभागले भने अधिकांश सम्पदा पुनर्निर्माणमा स्वदेशी श्रम र प्रविधि प्रयोग गरिएको दावी गरेको छ । दातृ निकायको सहयोगमा विभागले प्रत्यक्ष निगरानी र समन्वयमा यी सम्पदा बनिरहेकाले शंका नगर्न आग्रह गरेको छ ।

विभागका अनुसार, यो बीचमा पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योग नरेन्द्रको सालिक पुनस्र्थापना भएको छ भने मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण सकिएको छ । ऐतिहासिक कृष्ण मन्दिर संरक्षणको काम सकिएको छ ।

थापाथलीस्थित जंग–हिरण्य हेमनारायण मन्दिर तथा बौद्धनाथ स्तूपा पनि नेपाली सीप र श्रममा बनाइएको विभागको दावी छ ।

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले दातृ निकायले आर्थिक सहयोग मात्रै गरेको दावी गरे । सबै पुराना मौलिक सम्पदा पुनर्निर्माणमा नेपाली श्रम र सीपलाई पहिलो प्राथमीकतामा राखेको दावी पुरातत्व विभागका निमित्त महानिर्देशक गौतमको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिले पुरातात्विक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माण विशेष प्राथमिकतामा परेका छन् । पुरातत्व विभागले यसमा नियमित अनुगमन गरिरहेको प्राधिकरणको दावी छ ।

पुरातत्व विभागले चालू आर्थिक वर्ष २०७६–०७७ मा थप १५० वटा सम्पदा तयार हुने दावी सहित यसमा आशंका नगर्न आग्रह गरेको छ ।

अहिले रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायतका सम्पदा चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायतको सहयोगमा बनिरहेका छन् ।

भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदामा क्षति पुगेको थियो ।