कैलालीको टिकापुरमा नौ जनाको ज्यान जानेगरि भएको हिंसात्मक घटनाको चार बर्ष पुरा

title
शनिबार, भदौ ७, २०७६

काठमाडौं । कैलालीको टीकापुरमा एक वरिष्ठ प्रहरी उपरीक्षक सहित आठ जना प्रहरी सुरक्षाकर्मी र एक डेढ वर्षीय बालकको हत्या भएको आज चार वर्ष भएको छ । थरुहट र थारुवान संघर्ष समितिको आह्वानमा भएको आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते भएकोे हिंसामा नौ जनाको ज्यान गएको थियो ।

त्यस्तै, भदौ ८ गते भएको व्यापक आगजनी र लुटपाटको घटनामा फूलबारी एफ.एम सहित थारु समुदायका दर्जनौं घर र पसलमा क्षति पुगेको थियो । सोही घटनाको चार वर्षपछि आज थरुहट–थारुवान राष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।

तीन दिने सम्मेलनमा नेपालका २५ जिल्लाका १० हजार बढी प्रतिनिधि सहभागी हुदैछन् । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले सबै जातजाति, वर्ग, संस्कृतिको संरक्षण गर्दै दिगो शान्ति र सद्भाव अभिवृद्धिका लागि सम्मेलन गरिएको जनाएको छ ।

सोही घटनामा मुछिएका रेशम चौधरी प्रतिनिधि सभा सदस्य चुनाव जितेर पनि अहिले जेलमा छन् भने उक्त घटना सम्वन्धी लाल आयोगको प्रतिवेदन सरकारले आजसम्म सार्वजनीक गरेको छैन ।